२६ पुस २०८२, शनिबार | Sun Jan 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फेरि छाउगोठ भत्काउन शुरु


६ पुस २०७७, सोमबार  

0
Shares


६ पुस ०७७,डोटी । समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको भन्दै सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान फेरि शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान रोकिए पनि सुदुर पश्चिमका विभिन्न जिल्लामा फेरि छाउगोठ भत्काउने अभियान शुरु गरिएको हो । गृहमन्त्रालयले गएको वर्ष पुस ९ गत प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि छाउगोठ हटाउने अभियान चालिएको थियो तर गत चैत्रदेखि कोरोना माहामारी शुरु भएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा अभियान बन्द भएको थियो । अहिले जिल्लामा छाउगोठ भत्काउने अभियान शुरु हुन थालेको छ । यसै सिलसिलामा डोटीको छिमेकी जिल्ला अछाममा शनिबार मात्रै पुनः नौवटा छाउगोठ भत्काइएको छ ।
छाउगोठ भत्काउने अभियानमा निस्किएको टोलीले जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा रहेका नौवटा छाउगोठ भत्काएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उनले भने, “कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिएको थियो, अहिले हामीले पुनः भत्काउन शुरु गरेका छौँ, एकै दिनमा हामीले नौवटा छाउगोठ भत्काएका छौँ ।” छाउपडी प्रथा मानेकै कारण दर्जनौँ महिलाले अकालैमै ज्यान गुमाएको तथा कयौँ किशोरी बलात्कृत भएको जान्दा जान्दै पनि छाउगोठ राखेको पाइएकाले पुनः भत्काउने अभियान शुरु गरिएको उनले जानकारी दिए ।

डोटीमा पनि छाउगोठ भत्काउने अभियान चाँडै शुरु हुने प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, “कोरोना सङ्क्रमण फैलिनुभन्दा पहिले जिल्लामा भएका धेरै छाउगोठ भत्काइसकिएका छन्, कहीँकतै अझै राखिएका भए त्यसको जानकारी लिने काम भइरहेको र भेटिएको खण्डमा भत्काउने तयारीमा छौँ ।”
जिल्लामा कुन कुन ठाउँमा छाउगोठ राखिएका छन् त्यसको विषयमा जानकारी लिनका लागि सादा पोशाकमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । उनले भने, “जिल्लाका केही ठाउँमा छाउगोठ छन् भन्ने मौखिक खबर आएको छ, त्यो बारे बुझ्न टोली खटाएका छौँ, टोलीले खबर ल्याउने बित्तिकै भत्काउन शुरु गर्छौँ ।” दुई नगरपालिका तथा सात गाउँपालिका गरी कूल नौवटा स्थानीय तह रहेको डोटीमा छाउपडी प्रथा अन्त गर्न तथा छाउगोठ भत्काउनका लागि प्रत्येक वडामा छाउपडीसम्बन्धी जनचेतना जगाउने काम शुरु गरिने सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घका अध्यक्ष तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “छाउगोठ हटाउन प्रत्येक वडाका सबै टोल, गाउँमा प्रहरीसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गर्ने तयारी गरिरहेका छौँ, कुरीतिका रूपमा रहेको छाउगोठ मनैदेखि भत्काउन जरुरी छ ।” जिल्लामा छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका साथ महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन रहेको छ ।

महिनावारी अर्थात् छाउ भएकी महिलालाई पाँचदेखि सात दिनसम्म छुन नहुने तथा घ्यू, दूध, दही दिन नहुने तथा दिएमा देउता रिसाएर घरमा अनिष्ट हुने अन्ध विश्वास अझै कायमै रहेको दिपायल सिलगढी नगरपालिका–४ की तुलसी शाहीले बताइन् । उनले भनिन्, “छाउ हुँदा महिलाको थुप्रै रगत बगेको हुन्छ, कमजोर हुन्छन् त्यो बेला पोषिलो खानेकुरो दिनु हुन्न भन्ने चलन छ, पोषिलो खानेकुरो नपाउँदा महिला बिरामी हुने र रोग लाग्ने बढी सम्भावना हुन्छ ।” विगतमा जिल्लामा कम्तीमा पनि २ सयको हाराहारीमा छाउगोठमध्ये प्रहरी तथा स्थानीय प्रशासनले केही हटाए पनि अझै छाउगोठ कायमै रहेको हुनसक्ने यहाँका स्थानीयको अनुमान रहेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १६८(३) मा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना हुने व्यवस्था रहेको भए पनि सुदूरपश्चिममा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै रहेको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।