कपिलवस्तुको शिवराज नगरपालिका५ चन्ौटास्थित सृष्टी च्याउँ फर्ममा शनिबार दिउँसो २ बजे आगलागी भएको आगलागी । आगोले फर्मका तीन वटा टहरामा ५ हजार किलो च्याउँ जलेर नष्ट हुँदा रु ३३ लाख क्षति भएको छ । तस्वीरः माधव बेल्बासे/रासस
११ पुस ०७७, कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सृष्टि च्याउफार्ममा आज(शनिबार) अपराह्न आगलागी भएको छ । च्याउफार्ममा लागेको आगोले फार्मका तीन टहरा जलेर पूर्णरूपमा नष्ट भएका छन् । ती टहरामा उत्पादन भएर टिप्न तयारी अवस्थामा रहेको पाँच हजार किलो च्याउसमेत खरानी भएको फार्मका सञ्चालक श्यामराज सुवेदीले बताए । उनले आगालागीका कारण करिब रु ३३ लाख बराबरको क्षति भएको जानकारी दिएका छन् ।
“हामी काम गरिरहेका थियौँ, टहरा नजिकै बालबालिका थिए, एक्कासी आगो दन्कियो, आधा घण्टामै सखाप भयो, छिमेकीले र पानीको जोहो गर्दागर्दै सबै च्याउ नष्ट भयो”, सुवेदीले भने । फुसको टहरा भएकाले स्थानीय तथा प्रहरी पुग्दा आगोले नष्ट गरिसकेको थियो । बिक्रीका लागि तयार भएको च्याउ नष्ट भएपछि सञ्चालक चिन्तित भएका छन् । बालबालिका खेल्दै गर्दा आगो सल्किएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताएका छन् ।
प्रतिक्रिया