१२, ०७७ ललितपुर । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको नयाँ पार्किङ एरियाबाट करिब १ सय ग्राम सुन जस्तो देखिने पहेलो धातुको २ थान बाला र नगद ८ लाख ७७ हजार रुपैयाँसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका ४० वर्षीय प्रल्हाद थापा र काठमाडौं कीर्तिपुर बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-३ घर भएका ४२ वर्षीय अर्जुन प्रसाद थपलिया रहेका छन् । उक्त स्थानमा जाँच गर्ने क्रममा भन्सार छलि ल्याउन लागेको उक्त धातु समेत फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु
काठमाडौं, सप्तरी, रौतहट, चितवन, गुल्मी र मोरङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ स्थित पासिकोट ओरालोमा ना.५ त ६२०८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री नुवाकोट सूर्यगडी नगरपालिका(२ घर भएकी ४६ वर्षीया बाटुली देबी थापा मगरको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मगरलाई ठक्कर दिई ट्याक्टर समेत दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक रामेछाप मन्थली–७ बस्ने २५ वर्षीय लबु खड्काको सोही अस्पतालमा उपचार भईरहेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–४ सुकेधारा नजिक गोपिकृष्ण पुलमा बा.२६ प ४०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति धोबी खोलामा खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं कपन बस्ने सिन्धुली दुधौली नगरपालिका–५ घर भएका २७ वर्षीय लोक नारायण श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल भारत अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरी शम्भुनाथ नगरपालिका–८ देवधार पुलस्थित सडकमा स.१ त ९९६६ नम्बरको ट्याक्टर र बा.४३ प ६२४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार उदयपुर गाईघाट देउरी टोल बस्ने २५ वर्षीय अभिषेक चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि युनिक अस्पताल रुपनीतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सप्तरी बोदेबर्साइन नगरपालिका-९ हैटीमा प्रदेश २–०१–००१ प ७५३३ नम्बरको मोटरसाइकल शनिबार बेलुका दुर्घटना हुँदा मोटरसाइकलमा सवार सप्तरी खडक नगरपालिका(११ बस्ने २२ वर्षीय देबेश चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय लक्ष्मी चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रौतहट देवाही गोनाही नगरपालिका–४ दोहर टोल बस्ने २४ वर्षीय गजाधर राय यादवको आफ्नै ईण्डो फार्म कम्पनीको ना.७ त १७५५ नम्बरको ट्याक्टरको ट्रलीले च्यापेर शनिबार साँझ मृत्यु भएको छ । ट्रली मर्मत गर्ने क्रममा ट्याक्टर ट्रली खसेर ट्याक्टर चालक यादवलाई किच्दा गम्भीर घाइते भएका उनको शुकदेवचोकको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मृतकका दाई ३० वर्षीय शेठ राय यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चितवन राप्ती नगरपालिका-५ भण्डारा चोकमा ना.१ त ७६७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिएर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार खैरहनी नगरपालिका-१० बस्ने ४५ वर्षीय महारी महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटैमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मी रेसुङगा नगरपालिका-१३ मसिनो खोलास्थित सडकमा ना.५ ख ३२०४ नम्बरको ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेल रहेका छन् । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ पथरीशनिश्चरे नगरपालिका-१० सिबिरडाँडास्थित सडकमा को.२ त ५५८१ नम्बरको ट्याक्टरले मे.११ प ३४३५ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-१० बस्ने ५२ वर्षीय सन्तबहादुर आले मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोवल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय शुक्ल मुर्मुको पथरी अस्पताल पथरीमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
मृत मृगसहित बस चालक पक्राउ
मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार चोकबाट मरेको मृग सहित काभ्रे भुम्लु गाउँपालिका–९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौताराबाट आउदै गरेको बा.२ ख ५२९१ नम्बरको बसमा मृग ल्याएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसको डिक्कीभित्र लुकाइ ल्याएको मरेको मृग फेला पारी बस चालक थापालाई पक्राउ गरेको हो ।
मृत अवस्थामा फेला
महोत्तरी, गौशला नगरपालिका–३ ईट्टाटार बस्ने ४५ वर्षीया मैती देवी परियार स्थानीय पच्यांङ खोला नजिक खेतमा शनिबार साँझ मृत अवस्थामा फेला परेकी छन् । काठमाडौं, काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी नजिक सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, नागार्जुन नगरपालिका –१ रानीवन प्रकृति चोक डेरा गरी बस्ने तारा कटवालको कोठामा बिद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा विभिन्न सामान जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । कपिलवस्तु, शिवराज नगरपालिका–५ बस्ने श्याम सुबेदीको च्याउ फर्ममा शनिबार दिउँसो आगलागी हुँदा ३ वटा फुसको टनेल, १ हजार २ सय प्याकेट च्याउ, पानी छर्किने फोगर सिस्टम समेत जलेर करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । कञ्चनपुर, महाकाली नगरपालिका–१ हल्दुघाटस्थित महाकाली आदर्श मावि दोधारा चाँदनिको स्टोरमा शनिबार दिउँसो आगलागी हुँदा स्टोरमा रहेका विभिन्न फर्निचर जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । मोरङ, बुढिगंगा गाउँपालिका(३ स्थित पाईनियर केबुल फ्याक्ट्री टिनको छानोमा विद्युत वाईरिङ सर्ट भई शनिबार राति आगलागी हुँदा टिनको छानो पूर्णरुपमा जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सोत नखुलेको १२ लाख रुपैयाँ सहित पक्राउ
रौतहटको गौर नगरपालिका–४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा कुमार र जैसवालको साथबाट ६र६ लाख गरी उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
भोजपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसादराई गाउँपालिका-६ खोलाखर्क बस्ने २८ वर्षीय प्रकाश पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पाण्डेले ती बालिकालाई पुस ४ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
एकनाले भरुवा बन्दुक सहित पक्राउ
तनहुँको घिरिङ गाउँपालिका–३ न्युपानेबाट १ थान एकनाले भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने ५० वर्षीय रोम बहादुर थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिलिङ सहितको एकनाले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले फेला पारी थापालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया