१३ पुस, ०७७ कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले जुगेडामा दुई प्रहरीको हत्याका मुख्य योजनाकारलाई पक्राउ गरेको छ । धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गरि फरार रहेका मुख्य योजनाकार भनिएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–१० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई सार्वजनिक गरेको छ ।
उनलाई आईतबार बेलुका ७ बजे धनगढी–१४ फूलबारीबाट पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले बताए ।
उनका अनुसार घटना पश्चात भारत तर्फ गएका रानाको निरन्तर खोज तलास जारी भएकै अवस्थामा राना नेपालतर्फ आई रहेको भन्ने विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । यसअघि सोही घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । फरार मुख्य अभियुक्त राना प्रक्राउसँगै सोमबार नै अदालतमा पेस गरिनेछ । राना लामो समयदेखि भारतको बनकट्टी र सलियापारबाट नेपालमा अबैध सामान र नेपालबाट अबैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । राना स्थानीय व्यापारीसँग मिलेर सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय उनी मटर (केराउ) को तस्करीमा संलग्न थिए । त्यहीँ मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वको टोलीले निजकै घरबाट हतियार लगेर प्रहरी असई र जवानको हत्या गरेको प्रहरी निष्कर्ष छ । गत कात्तिक १ गते शनिबार राति धनगढी–१२ जुगेडामा तस्करहरुले प्रहरीको हत्या गरेका थिए । त्यस रात ८ बजे सीमावर्ती क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा असई विक र जवान साउद नियमित गस्तीमा थिए । यसअघि प्रहरी हत्या घटनामा संलग्न रहेको आरोपमा धनगढी उप–महानगरपालिका–१० का पर्कु भन्ने ३१ वर्षिय रोहित राना, २० वर्षिय राजेन्द्र राना, ३० वर्षिय चोर भनिने सुरेश राना, २५ वर्षिय गब्बर भनिने राजकुमार राना, २२ वर्षिय रामनिवास राना, २९ वर्षिय टल्लु भनिने दलराम राना र २५ वर्षिय राम गोपाल रानालाई कात्तिक ४ गते प्रहरीले सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया