
२६ चैत ०७७, धादिङ । ज्यान मारेर भागेका अभियुक्त खनियावास गाउँपालिका ३ बस्ने ४१ वर्षीय घर्ती तामाङलाई बुधबार ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
२०५९ कात्तिक २९ गते खनियावास गाउँपालिका ३ केवरे देउरालीमा लागेको एकादशी मेला हेरी साँझ आफ्नो घरतर्फ फर्किन लागेको अवस्थामा कलङदुङ मुलबाटो देउरालीमा यही ठाउँ बस्ने पर्शुराम तामाङलाई घर्ति समेतका व्यक्तिहरूले खुकुरी, ढुङगा र नाईनस्टिक समेत प्रहार गरी गम्भीर घाइते बनाई फरार भएकोमा पर्शुरामको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो ।
घटनामा संलग्न रही फरार रहेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका ४ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
अवैध जडिबुटीसहित पक्राउ
खनियावास गाउँपालिका ३ दामन–पाख्रीन सडकबाट अवैध रुपमा ल्याउँदै गरेका विभिन्न जडिबुटी सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खनियावास गाउँपालिका २ बस्ने ३५ वर्षीय रामकुमार तामाङ र सोही गाउँपालिका ३ बस्ने ४७ वर्षीय उद्धब सिं तामाङ रहेका छन् ।
डुण्डुरेबाट धादिङबेसीतर्फ आउँदै गरेको बा.५ ख ६३४५ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङ तथा मातहत समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अबैध रुपमा ल्याउँदै गरेका ३ सय ५९ किलोग्राम मजिठो, १ हजार १४ किलोग्राम पाखनबेद, १७ किलोग्राम चिराईतो र ८ किलोग्राम कालीकाठ दाना (कालीदाना) जडिबुटी फेला पारी चालक रामकुमार र उद्धबलाई पक्राउ गरेको हो ।
उनीलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया