२१ पुस २०८२, सोमबार | Mon Jan 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालमा गैँडाको संख्या बढ्यो




२८ चैत ०७७, काठमाडौं । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १ सय ७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७ सय ५२ पुगेको जानकारी दिएका छन् । यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६ सय ४५ गैँडा थिए ।
शुक्रबार सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैँडा भेटिएका छन् । यो सङ्ख्या सन् २०१५ मा ६ सय ५ मात्रै थियो । पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य तीन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्यामा वृद्धि भएको ओलीले बताएका छन् । ओलीका अनुसार चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैँडा भेटिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैँडा भेटिएको ओलीले बताए । पर्सा राष्ट्रिय निकुञ्जमा भने तीन मात्रै गैँडा फेला परेको ओलीले जानकारी दिए । अघिल्लो गणनामा पर्सामा चार वटा गैँडा पाइएको थियो । राष्ट्रिय गैँडा गणनाअनुसार नेपालमा १ सय ४६ भाले र १ सय ९८ पोथी भेटिएको उल्लेख गर्दै बाँकी ४ सय ८ गैँडाको लिङ्ग पहिचान हुन सकेको छैन ।

पाँच सय २० वयस्क गैँडा भेटिँदा ९६ अर्धवयस्क र १ सय ३६ बच्चा गैँडा भेटिएको ओलीले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपक खरालले चैत ९ गतेदेखि शुरु गरिएको गणना चैत २७ गते रातिमात्रै सकिएको बताए । गणना सकिएपछि शुक्रबार र शनिबार तथ्याङ्क सङ्कलन तथा प्रविष्ट गर्ने काम भएको उनको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी गैँडा गणनामा २३ दिन लागेको भन्दै खरालले गणनामा २ सय ५० गणक तथा ४३ हात्ती प्रयोग भएको जानकारी दिएका थिए । गैँडा गणनाकै क्रममा ध्रुवे हात्तीले आक्रमण गर्दा सात जना घाइते भएको तथा एक जना गम्भीर घाइतेको काठमाडौँमा उपचार हुँदै गरेको उनले बताए ।
हात्तीले आक्रमण गरेपछि एक दिन र होलीको दिनमा गैँडा गणना हुन नसकेको भन्दै खरालले अन्य दिन बिहान ५ बजेदेखि राति अबेरसम्म गणना गरिएको जानकारी दिए । पर्सा र चितवनलाई १९ ब्लकमा विभाजन गरेर गैँडा गणना गरिएको थियो ।

 

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।