
१ वैशाख ०७७, काठमाडौं । नयाँ वर्ष २०७८ सालको पहिलो दिन वैशाख १ गते नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.माधव भट्टराई बताउँछन् ।
सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको पहिलो दिन काठमाडौं उपत्यकाका मन्दिरहरुमा पूजा गर्नेहरु पनि उल्लेख्य देखिन्छन् ।
यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।







प्रतिक्रिया