१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पर्यटकीय स्थल गोसाइँकुण्ड केबुलकारको प्रक्रिया अगाडि बढ्ने



रसुवाको गोसाइकुण्ड क्षेत्र । फाइल तस्विर : ललितपुर खबर

ज्ञानेन्द्र न्यौपाने
१ वैशाख ०७७, रसुवा । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बहुचर्चित धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माणको प्रस्ताव छिट्टै निर्णयमा पुग्ने बताएका छन् ।
रसुवा रङ्गशाला एवं प्रथम गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको आज बुधबार धुञ्चेमा उद्घाटनपश्चात् जनसमुदायलाई सम्बोधन गर्दै उनले भगवान शङ्कर गोसाइँ बाबा विराजमान रहेको पवित्र तीर्थको धार्मिक यात्रा सहज पार्न धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणका लागि वातावरण विज्ञले तयार पारेको कार्यविधि प्रतिवेदन स्वीकृतका लागि छिट्टै मन्त्रिपरिषद्मा लाने तयारी भएको जानकारी दिएका छन् ।
समुन्द्र सतहदेखि चार हजार ३ सय ८० मिटर उचाइमा अवस्थित पौराणिक धार्मिक एवं पर्यटकीयस्थलमा जिन्दगीभर एकपटक भए पनि पुग्नैपर्ने मान्यताअनुरूप भक्तजनलाई यात्रामा सहज पार्न गोसाइँकुण्ड गाउँपालिकाले केबुलकार निर्माणको प्रस्ताव अगाडि सारेको यस गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताएका छन् ।

एघार किमी छोटो दूरीको धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले विसं २०७५ देखि प्रक्रिया अगाडि बढाए पनि लाङ्टाङ राष्ट्रिय निकुञ्जको नीतिनियमले अलमल पारिराखेका अवस्थामा वन तथा वातावरणमन्त्रीको स्थलगत अवलोकनले अब पूर्णता पाउनेमा आम नागरिक विश्वस्त भएको स्थानीय बासिन्दाले बताएका छन् ।
मन्त्री आलेले फुटबल खेलको उद्घाटन गरकाथिए । रसुवा रङ्गशाला निर्माणका लागि रु एक करोड खर्च भएको र योमध्ये रु ३५ लाख प्रदेश सरकार एवं ६५ लाख गोसाइँकुण्ड गाउँपालिकाले व्यहोरेको बताइन्छ ।
वन तथा वातावरणमन्त्री आलेले लाङ्टाङ राष्ट्रिय निकुञ्जमार्फत धुञ्चेमा निर्माण भएको पर्यटन सूचना केन्द्र भवनको आज एक छुट्टै कार्याक्रमकाबीच उद्घाटन गरेका छन् ।
लाङ्टाङ तथा गोसाइँकुण्ड एवं निकुञ्ज क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई यहाँको जैविक विविधता र वन वनस्पति, वन्यजन्तु एवं वातावरणको संरक्षणका विषयमा जानकारी गराउने उद्देश्यले भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत रू ३० लाखको लागतमा पर्यटन सूचना केन्द्र निर्माण भएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिए ।
रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको हिमाली भेकमा छरिएर रहेको एक हजार ७ सय १० संरक्षित र ४ सय २० वर्ग किमी लाङ्टाङ राष्ट्रिय निकुञ्जको सबै आधार इलाकामा पुग्ने पर्यटकलाई भ्रमणको उपलब्धि र संरक्षणको पाटोमा सूचना केन्द्रले मद्दत पु¥याउने विश्वास गरिएको छ । यो केन्द्रमा सबैखालका सम्पदा झल्कने श्रव्यदृश्यसमेत राखिने निकुञ्जले जनाएको छ ।
पर्यटन सूचना केन्द्र भवनको उद्घाटनपछि मन्त्री आलेले त्यहाँ गरिएका व्यवस्थापकीय कार्यकोसमेत अवलोकन गरेका छन् । उनले जैविक विविधता संरक्षणका लागि नुवाकोट तथा सिन्धुपाल्चोक जिल्लामा पाँच वटा सुरक्षा पोष्ट निर्माणका लागि आवश्यक प्रक्रिया आगाडि बढाउन निकुञ्ज विभागका महानिर्देशकलाई निर्देशनसमेत दिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।