१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अन्नपूर्ण प्रथम आरोही तथा फोटोपत्रकार श्रेष्ठलाई सम्मान




११ वैशाख ०७७, पोखरा । फोटो पत्रकार तथा हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई पोखराका फोटो पत्रकार संघले सम्मान गरेका छन् ।
अन्नपूर्ण प्रथम आरोहण गरेर इतिहास रच्दै समग्र फोटो पत्रकारको गौरव बढाउन योगदान गरेको भन्दै फोटो पत्रकार सङ्घ, कास्की र फोटो पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा शुक्रबार संयुक्त रुपमा आयोजित कार्यक्रममा उनलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
कारोबार राष्ट्रिय दैनिक र न्यूयोर्क टाइम्समा फोटो पत्रकारका रुपमा काम गर्दैै आएकी श्रेष्ठ अन्नपूर्ण प्रथम आरोहण गर्ने प्रथम नेपाली महिला हुन् । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेल, फोटोपत्रकार, कास्कीका अध्यक्ष प्रदीप पौडेल, गण्डकीका अध्यक्ष राम गुरुङले उनलाई संयुक्त रुपमा सम्मान गरका हुन् ।
पर्यटन व्यवसायी भट्टराईले महिला र त्यसमाथि पनि फोटोपत्रकार भएर हिमाललाई नजिकबाट दृश्यावलोकन गर्दा नेपालको पर्यटन क्षेत्र विश्व बजारमा अझ प्रचार भएको बताएका थिए । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेलले राज्यले सम्मान गर्न नसकेका बेला फोटोपत्रकारले राष्ट्रको गहनालाई सम्मान गरेको भन्दै प्रशंसा गरे ।

फोटोपत्रकार सङ्घ, कास्कीका अध्यक्ष पौडेलले पत्रकारहरू अरुको फोटो खिच्ने र समाचार लेख्ने मात्रै नभई आफैँ समाचारको विषय बन्ने गरी कीर्तिमान राख्न पनि सक्षम छन् भन्ने कुरा श्रेष्ठले प्रमाणित गरेको धारणा राखे । सङ्घ गण्डकीका अध्यक्ष राम गुरुङले श्रेष्ठले राखेको कीर्तिमानले समग्र फोटोपत्रकारको गौरव भएको उल्लेख गरे ।
सम्मानित व्यक्तित्व श्रेष्ठले शुरुमा फोटोपत्रकार बन्न सामान्य क्यामेरा किन्न पनि धौ धौ परेको अनुभव सुनाउँदै अरुले हिमाल चढेको सुन्दा त्यसको फोटो खिच्दै प्रकृतिसँग रमाउने धोको आफ्नो मनमा पनि रहेको बताइन् । अन्नपूर्णसँगै सगरमाथा, आमादब्लम र मनासलु गरी चार हिमाल चढिसकेकी उनले अब धौलागिरि चढ्ने रहर भएको बताएकी थिइन् ।
कार्यक्रममा फोटोपत्रकार सङ्घ, गण्डकी प्रदेशका महासचिव कृष्णमणि बराल, कास्की सचिव दुर्गा पौडेल, पर्यटन व्यवसायी टीकाराम सापकोटा, पत्रकार सागरराज तिमिल्सिना, नारायण आचार्य, इन्द्र पौडेल, घनश्याम पौडेल, सुरज श्रेष्ठ, युनिश गुरुङ, प्रेम थापालगायतले फोटो पत्रकारहरूको इज्जत पूर्णिमा श्रेष्ठको कीर्तिमानले थपिएको धारणा राखेका थिए ।
आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम आरोहणका दृष्टिले निकै नै जोखिमपूर्ण मानिन्छ । आरोहण समूहमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा, शर्मिला तामाङ, पासाङ ल्यामु शेर्पा, दावा याङ्जेन शेर्पा, दावाफुटी शेर्पा रहेका थिए । उनीहरूले गत शुक्रबार दिउँसो १.३० बजे अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए । अन्नपूर्ण प्रथम आरोहणका लागि कठिन भएका कारण अहिले करिब २ सय ५० जना आरोहण गरिसकेका छन् । योवर्ष मात्रै ६७ जनाले सफल आरोहण गरेका छन् । अहिलेसम्म २४ महिलाले आरोहण गरेका छन् भने योवर्ष मात्रै नेपाली ६ जना र विदेशी ६ जनाले सफल आरोहण गरेका छन् ।
फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले ७० वर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् वि.सं. २००७ जेठ २१ गते अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए ।

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।