१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मास्क प्रयोग नगरे रु ५० जरिवाना



फाइल तस्विर

१३ वैशाख ०७८, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले आज सोमबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ ।
पहिलो दिन आज बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ । कारबाहीस्वरुप उनीहरुबाट रु एक हजार ८ सय ५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘तपाईंको मास्क खै ? अनिवार्य मास्क लगाउनु है ?”, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ ।
शुरुमा प्रहरीले ८०÷९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ ।
दुई सङ्क्रमितको मृत्यु
कोरोना भाइरस सङ्क्रमणबाट आज कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका ४ का ६० वर्षीय पुरुष र सोही नगरपालिका १५ का ७० वर्षीय पुरुष रहेको छ । उपचारका क्रममा आज दुबै जनाको महाकाली अस्पतालमा मृत्यु भएको हो । कोरोना सङ्क्रमणपछि दुबै जनालाई उपचारका लागि यो अस्पतालमा भर्ना गरिएको थियो । बितेको तीन दिनमा अस्पतालमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भइसकेको महाकाली अस्पताल कोरोना सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिएका छन् । उनले हाल अस्पतालमा ६० जना सङ्क्रमितको उपचार भइरहेको जानकारी दिएका छन् ।
यहाँको गड्डाचौकी नाकाबाट भारत जान आज बिहानदेखि रोक लगाएको छ । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएका बेला यहाँको स्थानीय प्रशासनले नेपाली नागरिकलाई भारत जान रोक लगाएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले आइतबार बेलुकीदेखि नै भारत जाने क्रम न्यून रहेको बताए । उनले भारतबाट भने नेपालीहरुलाई गड्डाचौकी नाकाबाट स्वदेश फिर्ता हुन दिइएको बताए ।
“अहिले यो नाकाबाट दैनिक पाँचदेखि सात सयजना स्वदेश फर्किरहेका छन”, प्रहरी नायब उपरीक्षक गुरुङले भने, “आउनेहरुको नाकामा स्वास्थ्य परीक्षण पनि भइरहेको छ ।” स्थानीय प्रशासनले आंशिक बन्दाबन्दी (लकडाउन) गर्ने विषयमा गृहकार्य गरिरहेको छ ।

यहाँका स्थानीय तहहरुले पनि कोरोना सङ्क्रमण बढ्न थालेपछि कार्यपालिकाको कामकाज बन्द गरिरहेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।