
१५ वैशाख,०७८,काठमाडौं । कोरोना भाइरसको जोखिमलाई मध्यनजर राख्दै आजदेखि सर्वोच्च अदालतले सेवा कटौती गर्ने भएको छ । सर्वोच्च अदालतको मंगलबार बसेको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठकले आजदेखि बैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो ।
बैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित् अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ मात्रै हुने बैठकले निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
यस्तै सर्वोच्च अदालतले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्याङ्कनका आधारमा उपयुक्त देखिएको काम कारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरूले मिलाउने निर्णय गरेको छ । काम कारबाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा, रिट तथा निवेदनमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रने सर्वोच्चले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।







प्रतिक्रिया