१८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


निषेधाज्ञा पालना नगर्ने आठ हजार जनालाई कारवाही



लेन्स : नेपाल प्रहरी

१८ वैशाख ०७८, काठमाडौं । नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाही गरेको छ । उनीहरुलाई उल्लङ्घनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १६ हजार ६६४ जनालाई निःशुल्क वितरण गरिएको र नलगाई हिँडडुल गर्ने ४५ हजार ७७७ जनालाई होल्डिङ जोनमा राखी सम्झाएर छाडिएको छ ।
कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रहीले कारवाही अभियानसँगै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । मानिसले सरकारी आदेशको उल्लङ्घन गरी जथाभावी रुपमा हिँडडुल गरेपछि सचेतनामूलक कार्यक्रम गरी सुझाव दिने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले ठाउँठाउँमा प्ले कार्डसमेत प्रदर्शन गरेको तथा बटुवालाई भेटेरै मास्क लगाउन, सावधानी अपनाउन तथा अत्यावश्यक काम नपरी बाहिर ननिस्किने शर्तमा घर पठाउने गरिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिउका छन् ।

कुँवरका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ५१८ सचेतनामूलक कार्यक्रम सम्पन्न भएको र तिनमा ६८ हजार ५६७ जना सहभागी भएका छन् ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै गएका सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि अभियान चालिएको उनले बताएका छन् । नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै रु’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोरोनाको जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ । कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अन्य सुरक्षा निकायलगायत सरोकार पक्षसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ६ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।