१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सामान्य स्वास्थ्य समस्या हुँदा परीक्षण गर्न चिकित्सकको सुझाव



पाटनमा एक विरामी परिषणको क्रममा डाक्टर ।

९ जेठ ०७८, काठमाडौं । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्ने चिकित्सकहरुले जोड दिएका छन् ।
वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गरे ।
सामान्य स्वास्थ्य समस्या आउँदैमा कोरोना होइन किन जाँच गर्ने भनेर नबसी स्वास्थ्य जाँच गरी ढुक्क हुनुपर्ने उनले बताए । ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो भएकाले स्वास्थ्य सतर्कता अपनाउन दासले अनुरोध गरेका हुन् । सबै ज्वरोलाई कोरोना नै ठानेर परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकको छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने चिकित्सकको अनुभव छ ।
पहिलो चरणमा कोरोनाले युवालाई फरक पर्दैन भनी बेवास्ता गरेकामा दोस्रो चरणमा धेरै युवालाई समातिरहेको छ । बालबालिका पनि प्रभावित हुन थालेका छन् । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । बिरामीले आफैँ औषधि किनेर खाने नगरी चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिएका छन् ।
जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढी नागरिकलाई खोप नलगाएसम्म स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव उनको छ । प्रशस्तमात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उनले सल्लाह दिए । छ दिनभन्दा बढी ज्वरो आए घरमा नबसी तत्काल चिकित्सककहाँ जान चिकित्सकले सुझाव दिएका छन् । दोस्रो लहर अझै १० दिनसम्म रहनसक्ने दासको भनाइ छ । दोस्रो चरणमा धेरैलाई निमोनिया भइरहेको छ ।
कार्यक्रममा पूर्व मुख्यसचिव एवं सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेल, अभियानकर्मी राजकुमार भट्टराईलगायतले आम मानिसमा चेतना जागृत गर्न जुम प्रविधिका माध्यमबाट साप्ताहिकरूपमा कार्यक्रम आयोजना गरिएको बताए । महाअभियानले प्रत्येक दिन बिहान साढे छ बजेदेखि एक घण्टासम्म कोरोनाबाट बच्न सहयोग पुग्ने प्राणायाम, योगासनलगायत साधनासमेत गराइरहेको छ ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ८ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।