६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धुर्मुस–सुन्तली मुसहर बस्तीमा सघाउदै




२३ जेठ ०७८,महोत्तरी । कोरोना महामारीले घरमै जकड्याएर राखेका बेला महोत्तरीको बर्दिबास १४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहरले धुर्मुस–सुन्तलीको साथ पाएका छन् । महामारी छल्न जिल्लामा जारी निषेधाज्ञाबीच कतै काममा निस्कन नपाएर जकडिएका मुसहरलाई धुर्मुस सुन्तली फाउण्डेशनले खाद्यान्न राहत पु¥याएर दुःखमा साथ दिएको हो । शनिबार साँझ फाउण्डेशनका अध्यक्ष हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)ले ७० परिवार मुसहरलाई तत्कालको राहतका लागि खाद्यान्न वितरण गरेका छन् ।
बस्तीका ७० परिवारले चामल, दाल, नुन, तेलसहित पुगनपुग एक महिना चल्ने सामग्री पाएका छन् । “घरघरै ३० किलो चामलको एक÷एक बोरा पाएका छौँ”, बस्तीकी आशा सादाले भनिन्, “त्यसैअनुसार दाल, खानेतेल, नुन र चिउरा, दालमोठ र बिस्कुट पनि पोकामा रहेछ, अब खानाबिना मरिँदैन ।” धुर्मु र सुन्तली (हास्य कलाकार कुञ्जना घिमिरे) त आफ्ना लागि देउताजस्तै भएका बस्तीका मुसहर बताउँछन् । अहिले महाव्याधिका बेला घरमा जकडिएर बस्नुपरेका बेला दुःखका समयमा धुर्मुस आएको बस्तीकी मनिता सादा बताछिन् ।पराले झुप्रामा दुःखकष्टले जीवन धानेका यस बस्तीका ५० परिवार मुसहर र अन्य समुदायका दुई परिवारले विसं २०७४ को नयाँ वर्षका दिन (वैशाख १ गते) खानेपानी धारा, बिजुली र शौचालय सुविधासहितको पक्कीघर धुर्मुस–सुन्तली फाउण्डेशनबाट पाएका थिए । त्यतिखेर ५० घरपरिवार रहेका मुसहर अहिले छुट्टिँदै गएर ७० परिवार बनेका छन् । फाउण्डेशनले निर्माण गरेको बस्तीभित्र दृश्यावलोकन स्तम्भ, बालउद्यान र मुसहरका कुलदेवता दिनाभद्रीको मन्दिरसहित बनेको छ ।

पहिलोपटक विसं २०७२ को हिउँदमा सरसफाइ दूत बनेर बर्दिबास पुग्नुभएका हास्य कलाकार धुर्मुस–सुन्तलीले पराले झुप्राको मुसहर बस्ती हेरेका थिए । पहिलो आगमनमै मुसहरसँग आत्मीय लगाव बढेपछि पटकपटक बस्ती पुगेर फाउण्डेशनले मुसहरमा सरसफाइ, शिक्षा र स्वास्थ्यबारे सचेतना बढाएको थियो ।
बर्दिबासका मुसहरको गरिबी, निर्दोषपन र अत्यन्त पछौटेपन देखेर द्रवित भएका धुर्मुस–सुन्तली दम्पतीले एकीकृत नमूना बस्ती बनाएर पक्की घरमा यिनीहरुलाई राख्ने सङ्कल्प गरे । यसैअनुसार विसं २०७३ माघमा निर्माण शुरु गरेर ९० दिनभित्रै मुसहरले पक्की घर पाएका थिए । “अब त धुर्मुस–सुन्तली आफ्नै परिवारको मुख्य अभिभावक हुनुहुन्छ भन्ने लाग्छ, उहाँहरु बर्सेनि भेटघाट गर्न, चाडपर्व मनाउन बस्ती आउनुहुँदा खुशीको माहोल बन्छ”, बस्तीका अगुवा बिल्टु सादा भन्छन्, “अब त हाम्रा स–साना नानीहरुले पनि घरका बाबुआमालाई दङ्ग्याए जसरी नै उहाँहरु दुवैसँग विभिन्न ‘फर्मायस’ गर्छन् ।”
धुर्मुस–सुन्तलीसँगको उठबसले बस्तीका मुसहरले नयाँ पक्की घरमात्र नभएर पक्की मन पनि पाएका बर्दिबास १४ का वडाध्यक्ष भरत हमाल बताउछन् । “पक्की घरमात्रको कुरा होइन, खाने, बस्ने संस्कार पनि मुसहरले पाएका छन”, हमाल भन्छन्, “उज्यालो हुनासाथ खुर्पी (माटो खन्ने सानो औजार) लिएर मुसा खोज्न हिँड्ने मुसहर बालबालिका अब विद्यालय जान लागेका छन् ।” बस्तीका मुसहरमा सरसफाइ, स्वास्थ्य र शिक्षाबारे जागरुकता बढेसँगै आफ्ना आवश्यकताका कुरा सम्बन्धित निकायसम्म पु¥याउने आँट बढेको हमाल बताउछन् ।
बस्तीका बालबालिका विद्यालय जाने, बस्तीका बासिन्दा विभिन्न आयमूलक काममा लागेका र सामाजिक चासोबारे कुरा गर्ने बनेको देख्दा सन्तोष लाग्ने गरेको हास्य कलाकार धुर्मुसको भनाइ छ । बस्तीको सकारात्मक परिवर्तनले मन आह्लादित बनाउने गरेको धुर्मुसले बताए । “बस्ती निर्माण क्रमसँगै भावनात्मक सम्बन्ध बढ्यो, त्यसयता चाडपर्वका विभिन्न अवसर र आफ्नै खुशी बाँड्न पनि बस्ती आउने गरेका छौँ”, धुर्मुसले भने । आफ्नै खुशी भनेको कुञ्जना र आफ्नो जन्मदिनको रमाइलो मुसहर बालबालिकासँगै केही वर्ष मनाइएको धुर्मुसले स्पष्ट पारे ।
धुर्मुसले पछिल्लोपटक आफैँले निर्माण गर्नुभएको बर्दिबास मुसहर बस्तीका ७० परिवार र रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुरस्थित बस्तीका ५० परिवारलाई शनिबार साँझ खाद्यान्न पु¥याएका हुन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ११ : १२ बजे