४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढी र पहिरोबाट दर्जनको मृत्यु, कयौं बेपत्ता, करोडौंको क्षति (तस्विरहरुसहित)



कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ । तस्वीर : सन्तोष गौतम\रासस

२ असार ०७८, काठमाडौं । अविरल वर्षाको कारण दर्जनौं मानिसको मृत्यु तथा बेपत्ता भएका छन् । वर्षाको कारण पाल्पा, सिन्धुपाल्चोक, मनाङ, लमजुङ, अर्घाखाँची, गुल्मी, मकवानपुर, चितवन ,नवलपरासी(पूर्व) र बाजुराका केही स्थानहरुमा पहिरो गई सडक अवरोध भएको छ भने बाढीको कारण विभिन्न स्थानहरु डुबानमा परेका छन् ।
प्रहरीका अनुसार पाल्पास्थित रिप्दीकोट गाउँपालिका ४ सिलाङ्थोकस्थित मन्छीप बस्ने मान बहादुर भन्ने महेन्द्र भट्टराईको घरमा मंगलबार साँझ पहिरो जाँदा उनकै छोरा १९ वर्षीय मदन भट्टराइको पहिरोमा पुरिएर मृत्यु भएको छ । उनको घरमा पहिरो गई पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले घाइतेको उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । पहिरोबाट महेन्द्रको घर पूर्णरुपमा क्षति भएको छ ।

पाल्पा जिल्लास्थित तानसेन नगरपालिका ८ जरेपिपलस्थित सिद्दार्थ राजमार्ग, तानसेन नगरपालिका ८ गौडेपुल नजिकै सिद्धार्थ राजमार्ग र रिप्दीकोट गाउँपालिका ३ हार्थोक नजिक पाल्पा गुल्मी सडकखण्डमा अबिरल बर्षाको कारण मंगलबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका २ स्थित मेलम्ची खोलामा मंगलबार आएको बाढीले सोही गाउँपालिका १ स्थित रहेका सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, सोही गाउँपालिका ७ स्थित ७ वटा ट्राउण्ड माछा फर्म र मेलम्ची नगरपालिका १० र ११ जोड्ने पक्की पुल बगाएको छ । साथै हेलम्बु गाउँपालिका २ किउल बस्ने ३१ वर्षीय माधव भण्डारी सहित ७ जना सम्पर्कमा नरहेकोले प्रहरीले खोजी गरिरहेको छ । बाढीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

निरन्तरको वर्षापछि आएको पहिराले जोखिममा परेको तनहुँको व्यास नगरपालिका–६ काˆलेफाँटका घर । पहिरोका कारण यहाँका दुई घर जोखिममा परेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

मनाङ जिल्लाको चामे गाउँपालिका ४ र नासो गाउँपालिका ३ स्थित अबिरल वर्षाको कारण मंगलबार दिउँसो आएको बाढीले चामे गाउँपालिका–४ मा रहेको जिल्ला हुलाक कार्यालयको भवन, ६ वटा घर, सोही ठाउँस्थित रहेको घट्टे खोलाको पक्की पुल, ठाडो खोलाको काठको पुल, निमार्णाधिन आमा समूहको भवन पछाडिको भाग, २ वटा तातोपानी कुण्ड र नासो गाउँपालिका ३ बस्ने शेर बहादुर गुरुङको घर बगाएको छ । बाढी आई घरहरु बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले चामेका ३० घरका ३ सय जनालाई जिल्ला कारागारमा स्थानान्तरण गर्नुका साथै नासो गाउँपालिका १ का ४८ घरका ३ सय जनालाई सुरक्षित स्थानमा सारेको छ ।


राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत गलुवामा खसेको पहिरो । पहिरोले करिडोर अवरुद्ध छ । तस्वीर : तारानाथ आचार्य\रासस

लमजुङ, दोर्दी गाउँपालिका ८ हिलेबजारमा अबिरल वर्षाको कारण दोर्दी खोलामा मंगलबार दिउँसो आएको बाढीले चतुरे बिक लगायत ७ जनाको घर बगाउएको छ भने २ वटा घर जोखिममा परेका छन् । प्रहरी चौकी चितीको प्रहरीले घर परिवारलाऐ सुरक्षित स्थानतर्फसारेको छ । साथै सोही गाउँपालिका ६ कृतिपुर बस्ने कृष्ण घलेको कुखुरा फर्म बगाउनुका साथै सुप्पर दोर्दी हाईड्रो पावरको ड्याममा समेत क्षती पु¥याएको छ ।


अर्घाखाँची, सन्धिखर्क नगरपालिका–३ फुतवाङस्थित गोरुसिंगे सन्धिखर्क सडकमा मंगलबार राति पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेका बताएको छ ।

मंगलबार साँझदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार बिहान पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङगे पुल बाढीले बगाएको छ । तस्वीर : आदित्य दाहाल\रासस

गुल्मीजिल्लाको रेसुङगा नगरपालिका १३ भगेरी भन्ने ठाउँमा मंगलबार पहिरो झरी रिडी तम्घास सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्लाप्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको जानकारी दिएको छ ।
मकवानपुर, भिमफेदी गाउँपालिका ६ देउरालीस्थित हेटौंडा भिमफेदी कुलेखानी सडक खण्डमा मंगलबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अबरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको बताएको छ ।


चितवन जिल्लास्थित भरतपुर महागरपालिका ३ बारघरे, यसै महानगरपालिका १६ गुम्बाचौर र झनझनेस्थित अबिरल बर्षाको कारण नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा बारघरेको ३० घरधुरी, झनझनेको १ सय ५० घरधुरी र गुम्बाचौरको ३० घरधुरीलाई सुरक्षित स्थानतर्फ स्थान्नतरण गरेको छ ।

मंगलबार साँझदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार बिहान पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङगे पुल बाढीले बगाएको छ । तस्वीर : आदित्य दाहाल\रासस

नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका २ बोटे टोलमा नारायणी नदीमा मंगलबार राति आएको बाढी पस्दा प्रभावित भएका करिब १ सय ५० घरधुरीका परिवारलाई ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा सुरक्षित स्थानतर्फ स्थान्तरण गरेको छ ।


बाजुरा जिल्लाको बुढीन्नदा नगरपालिका ४ बस्ने जयबिर धामी र मने रोकायाको घर सोही ठाउँस्थित घोडाकोटी खोलाले कटान गरी बगाएको छ । यस घरका परिवार र जोखिममा रहेका १३ बटा घरका मानिसलाई सुरक्षित स्थानमा सरिसकेका छ ।


ती स्थानहरुमा नजिकका प्रहरी कार्यालयहरुबाट तत्काल खटिएको प्रहरीले स्थानीयबासी, सडक डिभिजन कार्यालय र अन्य निकायसँगको समन्वयमा अवरोध सडक खुलाउने पहल गर्नुका साथै डुबान परेका स्थानहरूमा आवश्यक उद्दार तथा खोजी कार्य गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : ०५ बजे