
१४ असार ०७८, काठमाडौं । राजधानी लगायत देशभर कोरोना संक्रमणको जोखिम रहिरहेको अवस्थामा नेपाल प्रहरीले आइतबार २ सय ४९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो गएको २४ घण्टामा प्रहरीले यो मास्क निशुल्क वितरण गरेको जानकारी दिएको हो ।
यस कार्यक्रम अन्तर्गत अहिलेसम्म प्रहरीले जम्मा ४ लाख ५९ हजार ७ सय ६१ जनालाई निःशुल्क मास्क वितरण गरिएकोजानकारी दिएको छ ।
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ७९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४ सय ९४ वटा गाडी र १ हजार २ सय ८५ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ७ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १० हजार ७ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ हजार ३ सय २५ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ६८ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ७ सय २३ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।







प्रतिक्रिया