३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप २७१४ जनालाई काेराेना संक्रमण, स्वास्थ्य मन्त्रालयले भन्याे,’तेस्रो लहर आउन सक्छ, सजग रहौँ ‘



७ साउन ०७८, काठमाडौं । नेपालमा थप २ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १२ हजार ८२९ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
बिहीबार थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ।

बिहीबार १ हजार २८८ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.५ प्रतिशत रहेको छ।

‘सङ्क्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन्।

तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए । “सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ”, उनले भने, “तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष आइसीयू र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ ।”

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण छ । नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै छ लाख ३६ हजार ४०२ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६३७ को सङ्क्रमणबाट निधन भइसकेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ५ : १३ बजे