१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भरुवा बन्दुकसहित पक्राउ परे वडासदस्य



GUN
१३ साउन ०७८,खोटाङ
भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक)सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई प्रहरीले सोमबार राति उनीहरुको घरैबाट पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्यमा वडा सदस्य परशुरामका छिमेकी ६९ वर्षीय मदनबहादुर बानियाँ तथा ३३ वर्षीय मिलन बानियाँ रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका वडा सदस्यसहित तीनै जनाविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी हिरासतमा राखेर कारवाहीको प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।
पक्राउ परेका वडा सदस्य परशुरामको घरबाट लोड नगरेको एक थान भरुवा बन्दुक तथा मदनबहादुरको घरबाट छर्रा र बारुदसमेत लोड गरेको एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने १५० ग्राम बारुद, ४०० ग्राम धातुका छर्रा र सलाई तथा मिलनको घरबाट छर्रा, बारुद लोड गरेको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । एउटै गाउँका तीन जनाको घरबाट अवैधरुपमा राखिएको भरुवा बन्दुकसहित खरखजना बरामद गरिएपछि यस घटनाका बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए ।
वडा सदस्य परशुरामको घरबाट बरामद गरिएको भरुवा बन्दुकको जिल्ला प्रशासन कार्यालय खोटाङले प्रदान गरेको अनुमतिपत्र रहेको जनाइएको छ । अन्य दुई जनाको भरुवा बन्दुकको भने अनुमतिपत्रसमेत नरहेको स्थानीय बासिन्दाले जनाएका छन् ।
वडा सदस्यको भरुवा बन्दुकको अनुमतिपत्र विसं २०७२ सालसम्म नवीकरण गरेको स्रोतले जनाएको छ । जिल्लामा अधिकांश स्थानीय बासिन्दाले प्रयोग गर्ने भरुवा बन्दुक बिना अनुमतिका रहेको स्रोतको दाबी छ ।
यसअघि गत जेठ १ गते भरुवा बन्दुक र वन्यजन्तुको अङ्गसहित खोटाङका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रवीन्द्र कार्की र ७४ वर्षीय कृष्ण विश्वकर्मालाई भरुवा बन्दुक, वन्यजन्तुको अङ्ग र बन्दुकमा प्रयोग हुने विष्फोटक पदार्थसहित उनीहरुको घरबाटै पक्राउ गरेको हो ।
दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय भरुवा बन्दुक प्रयोग गरी चोरी शिकारी गर्नेको सङ्ख्या बढेको प्रहरीले जनाएको छ । पर्याप्त वन्यजन्तु पाइने यस जिल्लामा अधिकांश स्थानीय बासिन्दाले मनोरञ्जनका लागि मृग, थार, घोरल, खरायो, कालिजलगायतको शिकार गर्ने गरेका छन् । जिल्लाका अधिकांश लेकाली क्षेत्रमा पर्ने जङ्गलमा शिकारी बास बस्दै शिकार गर्ने गरेको जनाइएको छ । पछिल्लो समय जिल्लामा अवैधरूपमा चोरी शिकारी गर्ने क्रम बढेपछि लोपोन्मुख जीवजन्तु भने सङ्कटमा पर्दै गएको छ ।
चोरी शिकारीको गतिविधि बढ्दै गएपछि नियन्त्रण गर्न प्रहरीले अवैध भरुवा बन्दुक नियन्त्रण अभियान शुरु गरेको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । अवैध भरुवा बन्दुक नियन्त्रण गर्न जिल्लाका हरेक प्रहरी एकाइलाई निर्देशन दिइएको प्रजिअ शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ६ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।