२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना



सिंहदरबारस्थित जीर्णावस्थामा रहेको पुुरानो संसद भवन । विसं २०७२ को भूकम्पपछि  भवन जीर्णावस्थामा छ । तस्बिर : रत्न श्रेष्ठ\रासस

१८ साउन ०७८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट क्षतिग्रस्त पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना रहेको बताएका छन् ।
विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भइ हाल जीर्ण अवस्थामा रहेको सिंहदरबारस्थित संसद् भवनको अवलोकन गर्दै उनले पुरातात्विक महत्व बोकेका संरचना भएकाले यसको संरक्षण गर्नु आवश्यकता भएको बताएका हुन् ।
“संसद् भवनको संरक्षण आवश्यक छ, प्राविधिक टोलीसँग छलफल गरी आवश्यक कदम चाल्छौँ”, अवलोकनपछि उनले भने, “सङ्ग्रहालयसँगै यसलाई पुस्तकालयका रुपमा समेत विकास गर्नुपर्छ ।” सङ्ग्रहालय र पुस्तकालय एक अर्कासँग सम्बन्धित विषय भएकाले यसबारे आवश्यक अध्ययन गरी प्रक्रिया अघि बढाइने बताउँदै उनले पुरानो संसद् भवनबारे विभिन्न किसिमका सुझाव प्राप्त भएको र ती सबै विषयमा छलफल गरी ठोस निर्णय गरिने उल्लेख गरे । “सम्बद्ध पक्षसँग आजैदेखि छलफल चलाउँछु, पूरै पुनःनिर्माण गर्ने की जीर्णोद्धार मात्र गर्ने भन्नेबारे चाँडै निर्णय गरिने छ”, सभामुख सापकोटाले भने ।
राजधानीको मुटुमा रहेका ऐतिहासिक भवन भएकाले त्यसको अधिकतम सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । यस अवसरमा उनलाई संसद् सचिवालयका कर्मचारीले यो भवनको अवस्थाबारे जानकारी दिएका थिए ।
दुई वर्षअघि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पुरानो संसद् भवनलाई भत्काएर ‘स्टेट गेस्ट हाउस’ बनाउन सरकारलाई निर्देशन दिएको थियो । त्यसयता यो भवनबारे सरकारले कुनै कदम चाल्न सकेको छैन । सभामुख सापकोटोको आजको अवलोकन भ्रमणपछि यो जीर्ण भवनबारे ठोस कदम चालिने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।