१६ पुस २०८२, बुधबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गाडी नगुड्ने सडक कालोपत्रे




३ भदौ ०७८,सुर्खेत । सुर्खेत वीरेन्द्रनगरका मुख्य बजार क्षेत्रमा खाल्डाखुल्डीले यात्रु र यात्रीलाई सहज रुपमा हिँड्न मुस्किल छ ।
वीरेन्द्रनगर पालिका र वडाहरुले बजारका मुख्य ठाउँका खाल्डाखुल्डी पुर्न सकेका छैनन् । मान्छे आवतजावत हुने ठाउँ र मुख्य बजार क्षेत्रका खाल्डाखुल्डी बनाउनेभन्दा मान्छे नहुने ठाउँमा सडक बनाएको छ ।
कोरोना महामारीका बेला मान्छे आवतजावत नहुने ठाउँमा बजेट खर्च गरेर सरकारले राम्रो नगरेको वीरेन्द्रनगर –६ का हिमेश पुनले बताए । उनले भने, ‘यदि साँच्चै सरकारले राम्रो गर्न चाहन्थ्यो भने वीरेन्द्रनगर बजार क्षेत्रका खाल्डाखुल्डी बनाउनुपर्ने ।’
वीरेन्द्रनगर नगरपालिका– १० स्थित करिब दुई किलोमिटर उक्त सडकखण्ड अहिले सामाजिक संजालमा ‘भाइरल’ भएको छ, जहाँ यस्तो कोरोना महामारीमा म्युजिक भिडियो बनाउन र सेल्फी,टिकटक खिच्न आउनेको घुइँचो लाग्ने गरेको छ ।
यो सडक खेतको बिचमा बनेको छ । खेतमा हुर्किँदै गरेको धानबाली र दुबै छेउमा जंगलको हरियालीका कारण यो सडक आकर्षक देखिने गरेकाले प्रत्येक दिन यहाँ घुँइचो लागेको देख्न सकिन्छ ।
त्यहाँ पुगेका मानिसहरूले सडकमा खिचिएका तस्बिर, भिडिओहरू सामाजिक सञ्जालमा राख्न थालेपछि त्यहाँ पुग्ने मानिसको भिड दिनहुँ थपिन थपिँदै गएको छ ।
हरेक साँझ १५ सय भन्दा बढी पर्यटक म्युजिक भिडियो खिच्न र टिकटक, फोटो खिच्न यहाँ पुग्ने गर्दछन् । सामाजिक संजाल टिकटिकबाट भाइरल भएको यो सडकमा अचेल दिनहुँजसो म्युजिक भिडियो सुटिङ भइरहेको हुन्छ ।
कैलाली, बाँके बर्दिया, काठमाडौं पोखरासम्मबाट यहाँ घुम्न र म्युजिक भिडियो बनाउन आउनेहरु भेटिने गर्छन् ।
आफूले सामाजिक संजाल टिकटकमा भाइरल भएको देखेर यहाँ पुगेको बताउँछन् पोखराबाट आएका सुनिल शाक्य ।
‘सामाजिक संजालमा निकै भाइरल भएको देखें । यहाँ नपुगी मनले मानेन पुगे,’ उनले भने, ‘यहाँ पुग्दा निकै रमाइलो लाग्यो । तर वीरेन्द्रनगरका मुख्य सडकका खाल्डाखुल्डी देखेर दुःख लाग्यो ।’
‘हाम्रा विभिन्न धार्मिक साँस्कृतिक महत्व बोकेका ठाउँहरु ओझेलमा पर्दै गएका छन् । सरकार र हाम्रो चासो त्यहाँ छैन । पिच गरेको सडक देख्नै नसकेर भाइरल सडक भनेर उफ्रिन्छौं,’ उनी भन्छन् ।
वीरेन्द्रनगर –७ की कमला विकको पनि स्थानीय सरकारप्रति आक्रोश छ । भन्छिन्, ‘वीरेन्द्रनगर बजार क्षेत्रका मान्छे हिँड्ने सडक पिच छैनन् । यहाँ मान्छे नहिँड्ने ठाउँमा बजेट हालेर बालुवामा पानी खन्याएजस्तै भयो । यहाँ गरेको पिच पनि दुई चार दिनमै उप्किसक्यो । यो ठाउँ पनि दुई चार दिनभन्दा कति धेरै भाइरल होला र खै ?
तीनकुने चोकबाट दक्षिणतर्फ रहेको यो सडक आर्थिक वर्ष २०७७÷०७८ मा कालोपत्रे भएको सडक हो ।
एक करोडको लागतमा सडकको स्तरोन्नति गरिएको वडाध्यक्ष रत्न बहादुर बुढाले बताए । सडकका केही संरचना भने बन्न बाँकी छ । नाली नबन्दा सडक भत्किने सम्भावना भएपछि यो आर्थिक वर्ष नाला बनाउन थप एक करोड रकम विनियोजन गरिएको छ ।

सडकमा मानिसको भीड बढ्न थालेपछि रेखदेखका लागि प्रहरीलाई आग्रह गरिएको वडाध्यक्ष बुढाको भनाइ छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।