
४ भदौ ०७८, काठमाडौं । नक्कली कागजात बनाई ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ५ सेतीपाखा बस्ने भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सिंहले नेपालको विभिन्न जिल्लाहरू (कैलाली, सुर्खेत) को ठेगाना बताई विभिन्न बहानामा ठगी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई ललितपुर महालक्ष्मी नगरपालिका ५ सेतीपाखाबाट पक्राउ गरेको हो ।
सिंहले बुटवल–नाराणघाट सडक खण्डको दायाँबायाँको रुख कटानका सव कन्ट्राक्ट छ भनी चाइना स्टेट कन्टक्सन इञ्जिनियरिङ्गको कागजात देखाई अञ्जली कन्स्ट्रक्सन र सिंहको साझेदारी हो भन्दै लगानी गरेमा मुनाफाको ४०% तपाईँहरूले पाउने भनी रुपन्देही बुटवल उपमहानगरपालिका ८ बस्ने २ जना पीडितलाई विश्वास दिलाई ४३ लाख ७३ हजार रुपैयाँ लिई पैसा नभएको कुमारी बैंकको चेक दिई ठगी गरेको तथा अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ भन्दै रुपन्देही साँस्कृतिक नगरपालिका ६ बस्ने पीडितको बा.१२ च ३८५९ नम्बरको कार मासिक ९० हजार रुपैयाँ दिने भनी २०७६ वैशाखमा लगी सम्पर्क विहिन भएको तथा पैसाको खाँचो परेको भन्दै उक्त कार र ब्लुबुक धितो बन्धकी राखी ८ लाख ३५ हजार रुपैयाँ दिनुहोस् भनी नक्कली ब्लुबुक देखाई काठमाडौं महानगरपालिका–३१ बस्ने पीडितलाई ठगी गरेका थिए ।
साथै चुरियामाई ईन्टरप्राइजेज जडिबुटी काठमाडौंका सञ्चालकसँग बजाज कम्पनीको बा.९५ प १६८ नम्बरको मोटरसाइकल खरिद गर्ने भन्दै ३० हजार रुपैयाँ दिई बाँकी पैसा पछि दिन्छु भनी सम्पर्क विहिन भई ठगी गरेको, धनुषा जनकपुरधाम उपमहानगरपालिकास्थित न्यू साह एण्ड ईन्टरप्राइजेजका सञ्चालकलाई रायल हाइड्रो कन्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ भन्दै प्रदेश–३–०१ ०२३ च ००५० नम्बरको कार मासिक १ लाख ५० हजार रुपैयाँ भाडा दिन्छु भनी ठगी गरेको, काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित रायल हाइड्रो कन्ट्रक्सनको नक्कली लेटरप्याड, कम्पनीको छाप, नक्कली दस्तखत प्रयोग गरी आफूलाई संस्थापक अध्यक्ष भन्दै विभिन्न व्यक्तिहरूलाई करिब १ करोड रुपैयाँ ठगी गरेको र जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट लाटीकोईली गाविस–७ ठेगाना भएको नागरिकता बनाई सोही नागरिकता प्रयोग गरी विभिन्न बैंकहरूमा खाता खोली ठगी कार्यमा प्रयोग गरेको तथा सवारी चालक अनुमतिपत्र समेत किर्ते गरी बनाएको अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।







प्रतिक्रिया