२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद



नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमबार बुढानिलकण्ठमा क्रियाशिल सदस्यता छानविन समितिका सदस्य कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाउँदै । तस्वीर : रोशन सापकोटा/रासस

७ भदौ ०७८, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्ग्याएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन आज पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको नेता डा मीनेन्द्र रिजालले जानकारी दिएका छन् ।
प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाएको हो ।
केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । यस प्रतिवेदन गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरी प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्य पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्यद्वय रिजाल र लेखकलाई जिम्मेवारी तोकेको थियो ।
केन्द्रीय समिति बैठकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको थियो तर क्रियाशील सदस्यताको विवाद समयमै निरुपण हुन नसकेका कारण आज मात्रै सभापति देउवालाई प्रतिवेदन बुुझाइएको हो ।
पार्टीको गाउँ÷नगर वडा अधिवेशनका लागि मतदाता रहने क्रियाशील सदस्यताको सङ्ख्या मुलुुकभर र विदेशस्थित जनसम्पर्क समितिका गरी नौ लाखभन्दा बढी रहेको पार्टी कार्यालयले जनाएको छ । क्रियाशील सदस्यताको विवाद यसअघि समयमै नसुुल्झिँदा महाधिवेशन कार्यतालिका समेत प्रभावित भएपछि कार्यतालिका नै संशोधन गर्नुपरेको थियो ।
साउन ३० गतेको केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित कार्यतालिकाअनुसार कांग्रेसको गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ८ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।