४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद



नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमबार बुढानिलकण्ठमा क्रियाशिल सदस्यता छानविन समितिका सदस्य कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाउँदै । तस्वीर : रोशन सापकोटा/रासस

७ भदौ ०७८, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्ग्याएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन आज पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको नेता डा मीनेन्द्र रिजालले जानकारी दिएका छन् ।
प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाएको हो ।
केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । यस प्रतिवेदन गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरी प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्य पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्यद्वय रिजाल र लेखकलाई जिम्मेवारी तोकेको थियो ।
केन्द्रीय समिति बैठकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको थियो तर क्रियाशील सदस्यताको विवाद समयमै निरुपण हुन नसकेका कारण आज मात्रै सभापति देउवालाई प्रतिवेदन बुुझाइएको हो ।
पार्टीको गाउँ÷नगर वडा अधिवेशनका लागि मतदाता रहने क्रियाशील सदस्यताको सङ्ख्या मुलुुकभर र विदेशस्थित जनसम्पर्क समितिका गरी नौ लाखभन्दा बढी रहेको पार्टी कार्यालयले जनाएको छ । क्रियाशील सदस्यताको विवाद यसअघि समयमै नसुुल्झिँदा महाधिवेशन कार्यतालिका समेत प्रभावित भएपछि कार्यतालिका नै संशोधन गर्नुपरेको थियो ।
साउन ३० गतेको केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित कार्यतालिकाअनुसार कांग्रेसको गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ८ : १० बजे