४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस महाधिवेशनमा तीन शक्तिको भिडन्त




१८ भदौ ०७८, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट औपचारिक रूपमा सुरू हुँदैछ । शुक्रबार वडा तहको अधिवेशन हुँदैछ । तर, यसको सरगर्मी केन्द्रीय तहसमेत परिसकेको छ । आगामी नेतृत्वका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र कल्याण गुरुङले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

बिहीबार रामचन्द्र पौडेल समूहले पनि आफूहरुले सामूहिक नेतृत्वमार्फत एकजनालाई सभापतिमा उठाउने विश्वास दिलाउन पत्रकार सम्मेलन गरेको थियो । कोइराला र सिंह परिवारको साथमा पौडेलले बिहीबार पत्रकार सम्मेलन गरेर आफूहरूमध्येबाट एकजना सभापतिको उम्मेदवार हुने बताए ।

पत्रकार सम्मेलनमा कोइराला परिवारबाट शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला र सिंह परिवारबाट प्रकाशमान सिंह तथा अर्जुननरसिंह केसी, गगन थापालालाई दायाँ बायाँ राखेर नेता पौडेलले महाधिवेशनका लागि आफूहरू एकजुट भएको सन्देश दिए ।

यस्तै शेरबहादुर देउवा पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । हालसम्मको गतिविधि हेर्दा सभापतिका लागि आधा दर्जन नेताहरू प्रतिस्पर्धामा उत्रने देखिन्छ । तर, सघन प्रतिस्पर्धा भने तीन समूहबीच हुने देखिएको छ ।

शेरबहादुर देउवा, रामचन्द्र पौडेल र विमलेन्द्र निधि समूहबीच मुख्यतः प्रतिस्पर्धा हुने देखिएको हो । लामो समय देउवालाई साथ दिँदै आएका निधिले यसपटक आफैँ सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

१३औं महाधिवेशनमार्फत सभापतिमा निर्वाचित देउवा यसपटक दोहोरिने मनशायमा छन् । उता कोइराला र सिंह परिवारको साथसहित अर्जुननरसिंह केसी र गगन थापाको साथ पाएका रामचन्द्र पौडेल पनि सभापतिमा निर्वाचित हुने विश्वासमा छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार १८–२३ भदौसम्म वडा अधिवेशन हुनेछ । गाउँ÷नगरपालिका अधिवेशन २७ भदौमा, प्रदेश अधिवेशन १ असोजमा, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोजमा, जिल्ला अधिवेशन १० असोजमा, प्रदेश अधिवेशन १०–१२ कात्तिक र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुँदैछ । न्युज कारखाना

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ११ : ४८ बजे