४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोभ–२ र हैजा विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’



१८ भदौं ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्स कोभ–२ र हैजा रोग विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ लाई सुरुआत गर्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ती रोगका क्रमशः ‘एमआरएनए’ र ‘कोलेरा’ खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गर्न लागेको हो ।

यही भदौ १० गते मन्त्रिपरिषद्को बैठकले ती रोगविरुद्धको खोपका लागि ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने निर्णय गरेको थियो । परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले दुवै खोपको परीक्षण दुई हप्ताभित्र सुरु गरिने जानकारी दिए । उनले कोभ–२ विरुद्धको ‘एमआरएनए’ परिषद्ले धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देउराली जनता फार्मास्युटिकल्ससँगको सहकार्यमा र हैजाको ‘कोलेरा’ को परीक्षण बीपीसहित, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा गर्ने बताए ।
खोप उत्पादक कम्पनीले खोप ‘एमआरएनए’ पहिलो र दोस्रो चरणको सफल परीक्षणपछि नेपालमा तेस्रो चरणको परीक्षण गर्न थालिएको हो । चीनको वालभ्याक्स कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ‘एमआरएन’ खोप नेपालमा परीक्षण गर्न थालिएको उनले बताए ।
उक्त कम्पनीले २८ हजार जनामा परीक्षण गर्ने र नेपालमा तीन हजार जनामा परीक्षण गर्ने उहाँले जानकारी दिनुभयो । सोही अनुसार तेस्रो क्लिनिकल ट्रायल बीपी प्रतिष्ठान धरान हुनेछ ।

खोपको परीक्षण गर्नु अगाडि प्रयोगशाला र जनावरमा गरिन्छ । मानिसमा पहिलो र दोस्रो चरणको परीक्षण गर्दा थोरै जनसङ्ख्यामा गरिन्छ । “खोप परीक्षण गर्दा धेरैमा कति सुरक्षित छ भन्ने हेरिन्छ,” कार्यकारी निर्देशक डा ज्ञवालीले भने,‘तेस्रो चरणमा परीक्षणमा धेरै सुरक्षित भए मात्र खोप लगाउन अनुमति दिइन्छ ।’ परीक्षणका क्रममा खोपको सुरक्षा, प्रभावकारिता र कुन उमेर समूहका व्यक्तिलाई बढी प्रभावकारी हुन्छ भनेर पनि अध्ययन गरिन्छ । उहाँले परीक्षण गर्दा कुनै व्यक्तिमा कुुनै समस्या परे त्यसको सम्पूर्ण जिम्मा खोप उत्पादक कम्पनीले लिने गर्ने बताए ।

“परीक्षणका क्रममा खोप दिएकाहरुमा कुनै पनि असर देखिए उत्पादन कम्पनीले नै सम्पूर्ण जिम्मा लिने गरिन्छ,” उनले भने, “कसैलाई जबर्जस्ती वा गुपचुप कसैलाई पनि खोप परीक्षण गरिँदैन ।”

परीक्षणका लागि चीनबाट खोप अझै आइसकेको छैन । परिषद्ले सुनसरी जिल्लाका स्थानीयवासीमा परीक्षण गर्ने जनाएको छ । अहिले नेपालमा प्रयोग गरिएका खोप कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनिका खोप बाहिरी मुलुकमा नै परीक्षण गरिएका हुन् । नेपालमा परीक्षण गर्दा नेपालीको वंशाणुगत गुणअनुसार कति प्रभावकारी हुन्छ भन्ने थाहा हुने परिषद्का कार्यकारी निर्देशक डा ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : २० बजे