२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘जबज विरोधी’ खनाललाई नेकपा (एस)को राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व




१९भदौं ०७८, काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले झलनाथ खनाललाई राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व सुम्पेको छ ।
नेकपा (एस)भित्र तत्कालिन एमालेका महासचिव मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्ने कि नमान्ने भन्ने बहस चलिरहेका बेला ‘जबज विरोधी’ खनाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी सुम्पेको हो ।
नेकपा एमालेको पाँचौ महाधिवेशनमा भण्डारीले जबज प्रस्ताव गर्दा ‘दक्ष प्रजापतिको टाउको’ भनि टिप्पणी गर्दै फरक मत राखेका खनालले पार्टी दर्ता गर्नुअघि चन्द्रागिरी सम्मेलनलाई नयाँदिल्लीस्थित एपोलो अस्पतालबाट सम्बोधन गर्दै ‘जबजको युग समाप्त भएको’ घोषणा गरेका थिए ।
उनले नेकपा (एस)ले नयाँ राजनीतिक कार्यदिशा बनाउनुपर्ने प्रस्ताव गर्दै दिल्लीबाट मञ्जुरीनामासहित समाजवादीमा सनाखत गरेका थिए । १४ भदौमा स्वदेश फर्किएपछि खनाललाई नेकपा (एस)ले १३ सदस्यीय राजनीतिक प्रतिवेदन लेखन नेतृत्वको जिम्मेवारी दिएको हो ।
खनाल नेतृत्वको राजनीतिक प्रतिवेदनमा जबजमा नै विद्यावारिधी गरेका डा. बेदुराम भुसाल, एमाले प्रदेश सांसदबाट निष्काशित प्रकाश ज्वाला, महासचिवका दावेदारद्धय गंगालाल तुलाधार र बिजय पौडेल, प्रदेश १ का मुख्यमन्त्रीका दावेदार राजेन्द्र राई, सम्भावित मन्त्रीका सूचीमा रहेका जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीसहित केशवलाल महर्जन, सावित्रा भुसाल र गणेश विश्वकर्मा रहेका छन् ।
मिति तय नभएको राष्ट्रिय सम्मेलनमा सो राजनीतिक प्रस्ताव पेश गर्ने उद्देश्यसहित खनाल नेतृत्वको राजनीतिक प्रतिवेदन लेखन सुरु भएको हो । मृगौला प्रत्यारोपण गरेर स्वदेश फर्किएका खनालले एक महिनाभित्र राजनीतिक प्रतिवेदन तयार पारिसक्नु पर्ने समयसीमा तोकिएको छ । न्युज कारखाना

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।