१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


१४ महिनादेखि तलब नपाएपछि परिवार नै अनशनमा




सीपी लोहिया
२१ भदौ ०७८, बैतडी । बैतडीको शिवनाथका शिक्षक करण राना १४ महिनासम्मको तलब नपाएपछि परिवारसहित आमरण अनशनमा बसेका छन् । राना परिवार आइतबारदेखि जिल्ला समन्वय समिति बैतडीको कार्यालय अगाडि अनशन बसेका हुन् ।
शिवनाथ गाउँपालिका ६ स्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक राना ६ वर्ष अघि गाउँबाट विस्थापित भएपछि दशरथचन्द नगरपालिका ४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा काम गरिरहेका छन् । तर, उनले गत १४ महिनासम्मको तलब पाएका छैनन् ।
रानाले जिल्ला शिक्षा समितिबाट ईश्वर आधारभूत विद्यालयमै पदस्थापन पाउने आश्वासन पाएपछि पहिला काम गरेको बिद्यालयबाट पदस्थापनको स्वीकृति लिनुका साथै सबै प्रक्रिया पुरा गरे । तर, दुई वर्षअघि नै प्रक्रिया पूरा गरे पनि शिक्षा समितिले पदस्थापन गरिदिएको छैन ।
‘मैले पहिला काम गर्दै आएको विद्यालय रहेको शिवनाथ गाउँपालिकाबाट तलव लिन खोज्दा सरुवाका लागि स्वीकृति दिइसक्यौँ भन्छन् । यता पदस्थापन भएको छैन । मैले अहिले काम गरिरहेको विद्यालयमा मलाई अटाउने दरबन्दीसमेत खाली छ । तर, पदस्थापन गरिदिएको छैन । म अहिले घका न घाटको भएको छुँ । त्यसैले अब मरे पनि अनशनमै मरौँला भनेर सपरिवार अनशन बसेका हौँ’, पीडित रानाले भने ।
करण रानाको पदस्थापनका लागि जिल्ला शिक्षा समितिले पटक–पटक आश्वासन दिए पनि माग पूरा नगरेकाले राना श्रीमती र चार छोराछोरीसहित आइतबारदेखि अनशनमा बसेका हुन् ।
उनको माग सम्बोधनका लागि पहल गरिरहेको शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताए ।
‘उहाँको मागका विषयमा मैले जिल्ला शिक्षा समिति, दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकासँग कुरा गरेको छु । पुरानै विद्यालयमा गएर उहाँ काम नगर्ने, यता सुरुवा गर्न पहल गर्दा टुंगो लागेको छैन । हामी प्रयासरत छौँ, केही दिनमा विकल्प निकाल्छौँ’, उनले भने ।

आफ्नो गाउँ शिवनाथ ६ कानलीमै गएर बस्न सक्ने र पुरानै बिद्यालयमा अध्यापन गराउन सक्ने अवस्था नरहेको पीडित राना बताउँछन् । ज्यानमार्ने धम्की आएपछि उनी परिवारसहित विस्थासपित भएका हुन् । न्युज कारखाना

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।