
२२ भदौं ०७८, काठमाडौँ। बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहार दिएको सुवर्ण बग्गी सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ । नारायणहिटी दरबार सङग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वराजाहरूले प्रयोग गर्नुभएका सामग्री प्रदर्शनीमा थप्दै जाने नीतिअनुरूप सुवर्ण बग्गीलाई सार्वजनिक गरिएको बताए ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीया पहिलो पटक २०१६ साल फागुनमा नेपाल भ्रमण आउनुभएका बखत उपहारका रूपमा यो बग्गी प्रदान गरेकी थिइन् ।
यस्तो बग्गी संसारमा दुईवटा मात्र रहेको दाबी गरिएको छ । एउटा बग्गी अझै पनि बेलायती महारानीले प्रयोग गर्दै आएकी छन् र सो बकिङघम दरबारमा छ । त्यो बग्गीमा बत्ती जडान भएकाले राति पनि प्रयोग गर्न सकिन्छ तर उपहार प्राप्त बग्गीमा बत्तीको व्यवस्था छैन । बग्गी निर्माता कम्पनी अफोर्ड एन्ड सन्स लिमिटेड लन्डन भनी बग्गीको पछिल्तिर लेखिएको छ । सो कम्पनी सन १७९१ मा स्थापना भएको हो र यसले बेलायती दरबारका लागि विभिन्नखाले बग्गी तयार गरेको थियो ।







प्रतिक्रिया