११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओली भन्छन्, ‘माधव नेपालले घरमा आगो लगाए, खरानी घसेर तीर्थयात्रामा निस्किए’




३१ भदौं ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरेका छन् ।

काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

देश, जनता र लाखौँ कार्यकर्ताको भविष्यमाथि माधव नेपालले खेलवाड गरेको ओलीको आरोप छ । ‘माधव नेपालले १५ वर्ष पार्टी चलाए, प्रधानमन्त्री बने, अब त जानुपर्ने त कहीँ छैन’, उनले भने, ‘तर, आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

माधव नेपालले झुक्याएको र झुक्किएका कार्यकर्ताहरूलाई एमालेमा फर्कन आह्वान गरेका उनले प्रचण्डसँग गएका कार्यकर्तालाई पनि फर्कन आग्रह गरे ।

‘तपाईहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो, माओवादी केन्द्रको नाममा रहेका साथीहरूलाई एमालेमा फर्कन म आह्वान गर्छु’, ओलीले भने ।

कम्युनिस्टको सरकार ढालेर कांग्रेसको नेतृत्वको सरकार बनाएकोप्रति आक्रोश पोख्दै ओलीले भने, ‘मैले केही मन्त्री दिएको थिएँ नि, अहिले हेर्नु त देउवाले प्रचण्ड र माधव नेपाल खोइ मन्त्री दिएको ? प्रचण्डको पछि लागेर के हुन्छ । आउनुस् एकीकृत एमालेमा ।’
यस्तै ओलीले जनतामाथि सत्ताको दुरुपयोग गरेर बल प्रयोग गरिएको भन्दै आपत्ति जनाए ।

‘जनतमाथि सरकारले सत्ताको दुरुपयोग गरेर बल प्रयोग गरेको छ’, ओलीले भने, ‘जनतालाई उत्तेजित बनाउने कार्य नगर्नुस्, प्रतिकारमा उत्रने अवस्था नआओस् ।’

आफ्नो शासनकालमा जनताकोमाथि बल प्रयोग नभएको दाबी गरेका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले सरकारले जनताको विरोध प्रदर्शनमा बल प्रयोग गरेको आरोप लगाए ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ४ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।