९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बैंकले बढाए ब्याजदर, हेनुस् कुन बैकको कति ?




१ असोज ०७८, काठमाडौं । कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् ।
बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १० दशमलव ७ प्रतिशत ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंक(७.५)को छ । बैंकहरूले सार्वजनिक गरेका सूचनानुसार प्राइम कमर्सियल बैंकले संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम नौ दशमलव ७५ प्रतिशत तथा मेगा बैंकले नौ दशमलव ५५ प्रतिशतसम्म व्याज दिने उल्लेख गरेका छन् ।
एनएमबी बैंकले नौ दशमलव ५२, सानिमा बैंकले नौ दशमलव ५१, ग्लोबल आईएमई बैंकले नौ दशमलव ५० प्रतिशत नबिलले साधारणमा नौ दशमलव २६ प्रतिशत, एनसिसी बैंकले नौ दशमलव २६ प्रतिशत, सेञ्चुरी बैंकले नौ दशमलव २५, हिमालयन बैंकले नौ प्रतिशत, सिद्धार्थ बैंकले नौ दशमलव ०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले नौ दशमलव ०२ प्रतिशत र लक्ष्मी बैंकले नौ प्रतिशत ब्याज दिने बताएका छन् ।
बैंक अफ काठमाडौँले आठ दशमलव ७७ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले आठ दशमलव ७६ प्रतिशत, माछापुच्छ«े बैंकले आठ दशमलव ७५ प्रतिशत, एभरेष्ट बैंकले आठ दशमलव ६१ प्रतिशत, एनआईसी एसिया बैकले आठ दशमलव ६ प्रतिशत, नेपाल एसबीआई बैंकले आठ दशमलव ५५ प्रतिशत, सिभिल बैंकले आठ दशमलव ५५, कुमारी बैंकले आठ दशमलव ५१ प्रतिशत, कृषि विकास बैंकले आठ दशमलव ५ प्रतिशत, प्रभु बैंकले आठ दशमलव २५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले आठ दशमलव ०६ प्रतिशत, नेपाल बैंकले आठ दशमलव ०५ प्रतिशत, सिटिजन्स बैंकले आठ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सात दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरिएको जनाएका छन् ।
बैंकहरूले साधारण निक्षेपमा न्यूनतम चार दशमलव २६ देखि अधिकतम छ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेका छन् । यसैगरी बैंकहरूले कर्जातर्फ आधार दरमा प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेका छन् ।
बजारमा लगानीयोग्य रकम अभाव देखिएको अवस्था देखिएपछि आफ्नो निक्षेपबाहिर जान नदिन पनि बैंकहरूले ब्याजदर बढाउन परेको बैंकर बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको देखिन्छ । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको अवस्था देखिन्छ । बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो जस्ता सुविधाको प्रयोग गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको बिहीबारसम्म रु तीन खर्ब ५२ अर्ब २९ करोड एसएलएफमार्फत उठाएको देखिन्छ । राष्ट्र बैंकले गत भदौ १७ मा सात दिनका अवधिको रु २० अर्ब, भदौ २४ मा १४ दिन अवधिको रु ३० अर्ब र भदौ ३१ मा रु २० अर्ब बराबरको रिपोसमेत जारी गरिसकेको छ ।
काभ्रेमा कोरोना सङ्क्रमण दर घट्दै
२९ भदौं ०७८, काभ्रे । रोशी गाउँपालिकामा कोरोना सङ्क्रमण शून्यमा झरेको छ ।
शनिबार दुई जना सङ्क्रमणमुक्त भएपछि यो गाउँपालिकामा कोरोना सङ्क्रमण शून्यमा झरेको हो । चौंरीदेउराली, तेमाल र खानीखोला गाउँपालिकामा केही दिनदेखि एक÷एक सङ्क्रमित रहेका छन् । शनिबार सङ्क्रमणमुक्त भएको चौंरीदेउरालीमा सोमबार एक सङ्क्रमित थपिएको जिल्लास्थित कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)ले जनाएको छ ।
केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो हप्ता दैनिक रुपमा कोरोना सङ्क्रमण दर घटिरहेको देखिएको छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये हाल एक गाउँपालिका सङ्क्रमणमुक्त देखिएको हो । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जना सङ्क्रमित देखिएका छन् भने १९ जना सङ्क्रमणमुक्त भएका छन् । जिल्लामा हाल १८२ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ५१, धुलिखेलमा ३७, पाँचखालमा २५, पनौतीमा ३५, नमोबुद्धमा १५, मण्डनदेउपुरमा तीन तथा भुम्लु तीन, बेथानचोकमा आठ र महाभारत गाउँपालिकामा दुई जना रहेका छन् ।
आइतबार दुई सङ्क्रमित हुँदा ३९ जना सङ्क्रमणमुक्त भएका छन् । शनिबार १७ जनामा सङ्क्रमण देखियो थियो भने १९ जना सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ । यस्तै, जिल्लामा शुक्रबार ११ सङ्क्रमित थपिँदा ३५ जना सङ्क्रमणमुक्त भएका थिए । यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदर भन्दा सङ्क्रमणमुक्त हुने दर अधिक रहेको देखाएको हो ।
काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ४१९ मा सङ्क्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९७ दशमलब ४० प्रतिशत अर्थात् १४ हजार ४५ सङ्क्रमणमुक्त भइसकेका छन् । भदौ महिनामा नगन्य मात्रामा सङ्क्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रशासन कार्यालयले हाल जिल्लामा आउँदो असोज ५ गतेसम्म १० दिन ‘मिक्स लकडाउन’ थपेको छ । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : ४९ बजे