२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेको अवरोधका बीच राष्ट्रिय सभाबाट दुई विधेयक पारित



११ असोज ०७८, काठमाडौं । प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच राष्ट्रिय सभाले बजेटसँग आश्रित दुई विधेयक पारित गरेको छ । राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयकसँग आश्रित आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पारित गरेको हो ।

राष्ट्रिय सभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले बैठकमा अवरोध गरेका थिए । एमालेका सांसदहरू राष्ट्रिय सभा अध्यक्षले बैठक सुरु गरेसँगै सिटबाट उठेर विरोध गरेका थिए ।

एमाले सांसद परशुराम मेघी गुरुङले प्रतिपक्षले उठाएका माग समाधानका लागि सत्तापक्षबाट कुनै पहल नभएको भन्दै विरोध जारी रहने जानकारी दिएका थिए । अध्यक्ष तिमिल्सिनाले प्रश्न उठाएपछि बसेर सदन नियमित अगाडि बढाउन आग्रह गरेका थिए । तर, एमाले सांसदले सिटबाट उठेर विरोध कायम राखेपछि अध्यक्षले बैठकको कारबाही अगाडि बढाएका थिए ।

अध्यक्ष तिमिल्सिनाले दुवै विधेयकमाथिको छलफका लागि प्रस्ताव राख्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएका थिए । कुनै पनि सांसदले दफावार छलफलमा भाग नलिएपछि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएका विधेयक निर्णयार्थ प्रस्तुत गरिएका थिए । दुवै विधेयक बहुमतसहित पारित भएका थिए ।

राष्ट्रिय सभाले दुवै विधेयक पारित भएको सन्देश प्रतिनिधिसभालाई पठाएको छ । ती सन्देश सोमबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले सुनाउने र त्यसपछि प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयनमा जानेछन् ।

राष्ट्रिय सभाको अर्को बैठक असोज १७ गते १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।