५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मोतीपुरमा अतिक्रमित टहरा हटाउदा झडप, ४ जनाको मृत्यु, ३३ जना प्रहरी घाइते




२४ असोज ०७८,रुपन्देही । बुटवल उपमहानगरपालिका १७ मोतीपुरस्थित मोतीपुर औद्योगिक क्षेत्र परियोजनामा अतिक्रमण गरी बनाएका अस्थायी टहरा छ हटाउने ४ जनाको मृत्यु भएको छ भने ३३ जना प्रहरी र कर्मचारी घाइते भएका छन् ।
प्रहरीका अनुसार भदौ २९ गतेदेखि अनिश्चितकालिन निषेधाज्ञा गरिएको हुँदा अनावश्यक भिडभाड गर्न नपाइने र अतिक्रमण गर्न नमिल्ने भनी सम्झाई बुझाई गर्ने क्रममा यस स्थानमा रहेको भिडले आइतबार उल्टै प्रहरीमाथि ढुंगा, सिसाका फुटेका बोतल, रड, भाटा प्रहार गरेकोले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल समेतबाट खटिएको प्रहरीले सामान्य लाठी चार्ज गर्दा पनि भिड तितरबितर नभएको र अश्रुग्याँस र हवाई फायर भएको र ढुंगामुढाबाट ३३ जना प्रहरी कर्मचारी घाइते भएका छन् ।
यस क्रममा घाइते भएका ढुंगामुढा प्रहार गर्नेमध्येका कपिलबस्तु वाणगंगा नगरपालिका१० बस्ने २० वर्षीय रमेश परियार समेत हाल नाम, थर, वतन नखुलेका अन्य ३ जना गरी ४ जनाको उपचारको क्रममा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको छ ।
घाइते प्रहरी कर्मचारीहरूमा प्रहरी नायव उपरीक्षक मदन कुँवर, प्रहरी निरीक्षक चक्र बहादुर डरमपाल, प्रहरी नायव निरीक्षकहरू नबिन चालीसे, भरतराज पन्थी तथा बाबुराम घिमिरे, प्रहरी सहायक निरीक्षक बिमला बि.क., प्रहरी हवल्दार जगन्नाथ डागी, प्रहरी जवानहरू रिजन थापा, गोबिन्द चौधरी, झबिन्द्र परियार, बिनोद परियार, अनिता कुँवर, मेघराज पुन, राकेश यादब, राज लौनिया, जितेन्द्र पुन, जगबिर पुन, प्रदिप ठाकुर, सुर्यनाथ रेग्मी, जय कुमार चौधरी, बिरेन्द्र सुनारी, झरना परियार, लिला वली, सुजन सोमरे, अजय कुँवर, मनराज घर्ती मगर, निरशंकर केसी, सुरेन्द्र रोका, खगेन्द्र प्रसाद यादव, महेन्द्र
वली, अभिषेक बस्नेत, टेक बहादुर पल्ली र भरत गयल मगर रहेका छन् । घाइते प्रहरी कर्मचारीमध्ये २५ जनाको लुम्बिनी प्रादेशिक अस्पताल, ७ जनाको मेडिकल कलेज भैरहवा र १ जनाको चौराह हस्पिटल बुटवलमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीतर्फ १६ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर, ४ जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको छ । उनीहरूमध्ये १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल र ४ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय रुपन्देही समेतबाट २०७८ असोज २४ गते १६ः०० बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मको लागि कर्फयु आदेश जारी भएको छ ।
प्रहरीका अनुसार यस स्थानमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीसमेतबाट थप प्रहरी टोली खटी गई आवश्यक अनुसन्धान गरिरहेको र हालको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ४६ बजे