५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोनाबाट जोगिएर दसैँ मनाउन आग्रह गर्दै शुभकामना




२९ असोज ०७८, काठमाडौं । हिन्दुहरुको महान् चाड विजया दशमीको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली,एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र पुर्वमन्त्री परिषद अध्यक्ष खिलाराज रेग्मी लगायतले कोरोनाबाट जोजिएर दशै मनाउन शुभकामना दिएका छन् ।
राष्ट्रपतिबाट दसैँले उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले कोरोना महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह पनि गरेकी हुन् ।
बडादसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेषरूपमा मनाउने चाड भएको उल्लेख गर्दै राष्ट्रपतिले नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमीको पर्वको विशेष महत्व रहेको बताएकी हुन् ।
उपराष्ट्रपतिबाट आपसी एकता र सहमतिको बाटोमा अघि बढ्न बडादसैँले प्रेरित गर्ने अपेक्षा
उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न बडादसैँले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
नेपालीहरुको महान् चाड बडादसैँं–२०७८ का अवसरमा देशविदेशमा रहनुभएका हिन्दू धर्मावलम्बीलगायतका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै उपराष्ट्रपति पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै सुख, शान्ति, सुस्वास्थ्य समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
सांस्कृतिक पर्व राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदानः प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताएका छन् ।
बडादसैँ (विजयादशमी) का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ ।”
प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणका उपायहरुलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ पर्व मनाउन आम नेपालीलाई आग्रह गरका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दसैँ, तिहार, छठलगायतका चाडपर्वले समाजलाई एकता र सद्भावमा उन्नका लागि मालाको काम गरेको धारणा व्यक्त गरेका छन् । उनले लोकतन्त्रलाई व्यवहार र जीवनमा उतार्न सद्बुद्धि आवोस् भनी शुभकामनासमेत व्यक्त गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दसैँ, तिहार, नेपाल सम्वत्् र छठलगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका हुन ।
सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्, यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको हो ।”
राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले सबैलाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
विजयादशमी २०७८ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै सांस्कृतिक रुपमा समृद्ध हाम्रो नेपाली समाजमा विशेष रुपमा मनाइँदै आएको पर्व विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले यो धारणा व्यक्त गरेका हुन् । उनले सुख र समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरिरहँदा समग्र नेपालीको आमसरोकारको विषय स्मरण भइरहेको छ भन्ने सन्दर्भ उल्लेख गर्दै कोरोनाबाट सुरक्षित होऔँ र सुरक्षित साथ दसैं मनाऔँ भन्ने आव्हान पनि गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : ३० बजे