३ कार्तिक ०७८, काठमाडौं । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ ।
गत असोज ३१ गतेबाट यस प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ । आज रातिबाट भने कर्णाली र सुदूरपश्चिममा यस प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार प्रदेश १, २, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना छ ।
भोलि बिहीबारबाट भने मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा नहुने हुँदा ठाउँठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको उनले बताएका छन् । उनका अनुसार आगामी बिहीबारदेखि मौसममा सुधार हुँदै जाने छ ।
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।
प्रतिक्रिया