६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘देउसी भैलीको न मौलिकता, न त रौनकता’



फाइल तस्विर

२३ कात्तिक ०७८, काठमाडौं । हिमालीवासीलाई कामले खासै कहिल्यै छोड्दैन । उनीहरूका लागि फुर्सद भनेकै बेलुका खाएर भोलि बिहान सुतुञ्जेलसम्म मात्र हो । उठ्ने बित्तिकै पुनः उकाली ओराली गर्नुपर्ने उनीहरूको दैनिकी नै हो । मूलतः हरेक समय हिमाली जनजीवन कामकै चापाचापमा बित्ने गर्दछ ।
कामको चापले होला वर्ष दिनमा आउने नेपाली हिन्दू धर्मावलम्बीको महान् पर्व दसैँ र तिहार हिमालवासीले आरामका साथ मनाउन पाउँदैनन् । उनीहरूले ठीक दशैँ तिहारकै अवधिमा धान, मकै, कोदो, सिमी, भट्ट, चिनो, कागुनो, मास, गुराउँस, मार्सेलगायत अन्नबाली भण्डारण गर्नुपर्ने हुन्छ । त्यो चाप यो वर्ष छुट्ने कुरा पनि रहेन । दसैँ खाएर धानलगायत बाली भण्डारण गरौँला भनेकैले होला यसपाली यहाँका नागरिकले प्राकृतिक विपत्तिबाट ठूलो क्षति भोग्नुप¥यो । असोज ३१ गतेदेखि आएको अविरल वर्षाका कारण कात्तिक २ गते आएको भीषण बाढीले तिला र तातोपानी गाउँपालिका ४ जुम्लाका स्थानीयले प्राकृतिक विपत्तिबाट अन्नबालीको ठूलो क्षति भोग्नुप¥यो ।

दसैँको आनन्द लिन नपाउँदै विपत्तिको चपेटामा परेका यहाँका स्थानीयको तिहार (दीपावली) पनि राम्रो भएन । विगत वर्षको जस्तो देउसी भैली यस वर्ष सकेन । कोरोना महामारीले हो या के हो ? देउसी भैली खेल्न मान्छे नै गाउँमा नआएको तिला गाउँपालिका ४ जुम्लाका मानबहादुर सुनारले बताएका छन् । “हाम्रो आँगनमा एक दुई समूह देउसी भैलो खेल्दै आए तर उनीहरूले डिजेबाहेक अरु कुनै बजाएनन”, सुनारले भने, “ढिचिक्क् ढिचिक्क् गर्ने म्युजिक (सङ्गीत) सिवाय अरु केही सुनिएन । त्यसैमा केटाकेटी बहुलाह तालमा नाचेको देखियो । नाच पनि कति असभ्य ? नृत्यका ती दृश्य देख्दा र डिजे सङ्गीत सुन्दा हाम्रो मौलिकता सकिएछ जस्तो लाग्यो ।”
तिला गाउँपालिका ४ साँपुल्ली गाउँका स्थानीय ज्येष्ठ महिला बिजुली सिंहले देउसी भैलेराले विस्तारै आफैँले पुगार्न (भट्याउन) समेत छोडेको बताए। पहिलेजस्तो अहिले देउसी भैलोको रौनकता नभएको बताउँदै सिंहले रक्सी, जाँड खाने, छोटा च्यातिएका कपडा लगाएर देउसीले खेल्नेले रमाइलोभन्दा लाजमर्दो अवस्था ल्याएको प्रतिक्रिया दिए ।
सोही वडाका स्थानीय मानबहादुर शाहीले उतिबेला साथीसङ्गी मिलेर खेलिने देउसी भैली र अहिलेको धेरै भिन्नता रहेको बताउनुभयो । शाहीले भने, “त्यो बेला हामी आफैँले गीत रच्थ्यौँ । मादल आफैँले बजाएर नाच्थ्यौँ । सबैले आआफ्नो प्रतिभा देखाउँथे । लहरका साथै ताल मिलाएर भैली देउसी खेलिन्थ्यो । अहिलेका उपियाँ उफ्रेजस्तो गर्छन् ।” कर्णालीका संस्कृतिसम्बन्धी जानकार तथा तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नवराज न्यौपानेले हाम्रा मौलिक संस्कृति सकिँदै जानुले कर्णालीको पहिचान गुम्ने खतरा बढ्दै गएको प्रतिक्रिया दिए । “संस्कृति सभ्यताको जननी हो, मूल हो । यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नु हरेकको दायित्व हो । अन्यथा आफँै हराएर जाने अवस्था नआउँला भन्न सकिन्न”, अध्यक्ष न्यौपानेले भने ।
तातोपानी गाउँपालिकाले सांस्कृतिक, सामाजिक र ऐतिहासिक मौलिकपन बोकेका सबैखाले पर्व तथा नाचजस्तोः देउसी भैली, जुम्लामा मङ्सिर पूर्णिमामा खेलिने सानो भैली, पुस महिनामा खेलिने ठूलो भैली, बारुवा, सोह्रुवा र बिस्वाँ, पञ्चेबाजा संरक्षणमा विशेष अभियानमा जोड दिइएको उनले बताए । अध्यक्ष न्यौपानेका अनुसार आयतित संस्कृतिले मौलिक संस्कृतिमाथि तीव्र आक्रमण गरिरहेकाले त्यसको संरक्षणार्थ सबै सरकार र सम्बन्धित सरोकारवाला बेलैमा ध्यान दिनुपर्दछ ।
रासस

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ०४ बजे