
छठ पूजाको पूर्व सन्ध्यामा रङगीविरङगी विजुली बत्तीले मङगलबार सजिएको वीरगन्जको घडिअर्वा पोखरी परिसर । वीरगन्जको घडिअर्वा पोखरी परिसरमा हुने छठ पूजा हेर्न बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, काठमाडौँसँगै सीमावर्ती भारतीय सहरबाटसमेत हजारौंको सङख्यामा दर्शनार्थी आउने गरेका छन । तस्वीर : विजयकुमार महतोरासस
२४ कात्तिक ०७८,विरगञ्ज । पर्सामा छठ पूजाको सबै तयारी पूरा भएको छ । जिल्लास्थित छठ घाटलाई बिजुली बत्तीले रङ्गविरङ्गी पारी सजाइएको छ ।
वीरगञ्ज महानगरपालिकाभित्रका ९१ वटै छठीघाटमा सजावटको काम पूरा भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिएका छन् । सरावगीले छठघाट व्यवस्थापन समितिले माग गरेका आवश्यक सामग्री महानगरपालिकाले उपलब्ध गराएको र पूजालाई व्यवस्थित रुपमा सम्पन्न गर्न आफु लागि परेको बताएका छन् । वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा छठघाटको सबै तयारी पूरा भएको पूजा व्यवस्थापन समितिले जनाएको छ ।
परिसरलाई रङ्गविरङ्गी बिजुली बत्ती तथा फूलमालाले सजाइएको समितिका सचिव क्रान्ति साहले जानकारी दिए । उनले घडिअर्वा पोखरी परीलाई सजाउन यस वर्ष रु १४ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको बताए ।
करिब पाँच हजार व्रतालुले पूजा अराधाना गर्ने र एक लाख ७० हजारभन्दा बढी दर्शनार्थीको भीड हुने घडिअर्वा पोखरीको छठघाटमा सुरक्षाकर्मी र स्वयमसेवक परिचालन गरिने आयोजकले जनाएको छ । पोखरी परिसरमा एम्बुलेन्स, वारुण यन्त्र र चिकित्सकको व्यवस्था गरिएको छ ।
रासस







प्रतिक्रिया