१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गाडी चढेर सित्तैमा हेर्न पाइने इजरायली चलचित्र महोत्सव काठमाडौंमा सुरु




९ मंसिर ०७८, काठमाडौं । राजधानीको सोल्टी होटल परिसरमा गाडी चढेर सित्तैमा ठूलो पर्दामा इजरायली फिल्म हेर्न पाइने भएको छ । विहीबारबाट सुरु भएको इजरायली फिल्म फेस्टिवलमा यसरी गाडीमा बसेर सित्तैमाफिल्म हेर्न पाइने भएको हो ।
नेपाल र इजरायलबीचको जनस्तरको सम्बन्धलाई कला– संस्कृतिको माध्यमबाट समेत प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा तीनदिने इजरायली चलचित्र महोत्सव नयाँ ढाँचामा शुरु भएको हो ।
कोभिड महामारी मत्थर नभइसकेकाले आफ्नै सवारीसाधनमा बसेर चलचित्रको आनन्द लिन पारखीहरूलाई यहाँस्थित इजरायली दूतावासले १३ औँ संस्करणको महोत्सव‘ड्राइभ इन फिल्म सोज’ढाँचामा प्रस्तुत गरेको हो । एफएम रेडियो जडित सवारीसाधनमा बसेर सोल्टी होटलको सवारी बिसौनीमा ९०.६ मेघाहर्जमा ‘ट्युन’ गरेपछि विशाल पटाङ्गिनीको ठूलो पर्दामा दृश्य हेर्दै आवाज सुन्दै महोत्सवको मजा लिन सकिनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महोत्सवको आज विहीबार साँझ उद्घाटन गर्दै इजरायली चलचित्र निर्माता तथा लगानीकर्तालाई नेपालको मनोहर दृश्य र सौन्दर्यको छायाङ्कन गर्न आह्वान गरे । विदेशी चलचित्र निर्माताहरूलाई छायाङ्कनका लागि नेपालमा आकर्षित गर्न आफ्नो मन्त्रालयले सूचना तथा सञ्चार प्रविधि र अर्थ मन्त्रालयसँग सिनेमा बनाउनेहरूलाई सहुलियत दिन आग्रह गरेको जानकारी उनले दिएका छन् । मुलुकको पर्यटन प्रवद्र्धनमा छायाङ्कनबाट सकारात्मक प्रभाव पर्ने वास्तविकतालाई दृष्टिगत गरी त्यस निम्ति अन्तरसरकारी निकायसँग समन्वय गरिएको उनले बताए ।
नेपालका लागि इजरायली राजदूत हनान गोडेरले इजरायली संस्कृति, कला र परम्पराको प्रवद्र्धनका साथै दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ एवं सुमधुर तुल्याउन महोत्सव आयोजना गरिएको बताए । कलाकार राजेश हमालले चलचित्रहरू सिमानारहित र तिनको सन्देश सार्वभौमिक हुने भएकाले गुणस्तरीय चलचित्रप्रति आफ्नो लगाव र आकर्षण सधै रहेकाले कलाक्षेत्रमा नै आफू रमाइरहेको बताए ।
महोत्सवमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्व राजदूत, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै इजरायलमा उच्च शिक्षा हासिल गरेका नेपालीहरूको संस्था सलोम क्लबका पदाधिकारीहरूको उपस्थिति थियो । शनिबारसम्म जारी रहने महोत्सवमा सवारीसाधन भएका चलचित्र पारखीलाई निःशुल्क सिनेमा हेर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ९ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।