१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एमाले महाधिवेशन : विहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै




१३ मंसिर ०७८, चितवन । नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो । पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । यस्तै ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।
बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिनुभयो । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।
यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । बिहान १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।
एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो । अध्यक्ष ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेको छ । उनले १९ पदाधिकारी र ३सय १ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाउनुभएको थियो । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गर्नुभएको छ । उनले प्रस्ताव गरेको नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए । यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

एमाले नेता भीम रावल र घनश्याम भुसाल निर्वाचनको पक्षमा छन् । उहाँहरुले केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अस्वीकार गरेका थिए । एमालेका १९ पदाधिकारीसहित ३सय १ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था रहेको छ ।
रासस

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।