१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पोखरामा पनि केबुलकार सञ्चालनमा आउँदै



१६ मंसिर ०७८, पोखरा । पर्यटकीय नगरी पोखरामा पाँच वर्षअघि निमार्ण थालिएको केबुलकारको परीक्षण गरिएको छ । पोखरा महानगरापालिका १८ लेकसाइडस्थित सेतीबाट सराङ्कोट जान आउने केबुलकारको बुधबार परीक्षण गरिएको कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिएका छन् ।
त्रिपाठीका अनुसार अन्नपूर्ण केबुलकार प्रालिले बनाएको यो केबुलकार परीक्षणका लागि जापानबाट सात जना प्राविधिकको टोली पोखरा आएको थियो । दुई हजार ४ सय मिटर लामो यो केबुलकारका १३ टावर छन् । यो केबुलकारमा १८ वटा डिब्बा छन् । एकमा भने सामान राख्न प्रयोग गरिनेछ । प्रतिडिब्बामा आठ जनाको सिट क्षमता रहने जनाइएको छ । टोलीले सबै प्राविधिक पक्ष सफल भएको जनाएको छ ।
करिब साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि कोरोनाका कारण निर्धारित समयभन्दा बढी लागेको त्रिपाठीले बताएका छन् । “हामीले साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ तर कोरोनाले गर्दा समय पनि लम्बियो र लागत पनि बढी भयो ।” उनले योजनाको प्रारम्भिक खाकामा करिब रु एक अर्बमा योजना सम्पन्न लक्ष्य लिए पनि निर्माण अघि बढ्दै जाँदा पूर्वाधारलगायतका जमिन थपिँदै गएपछि लागत बढी लागेको बताएका छन् ।

“सुरुमा हामीले फेब्रिकेशनमा बिल्डिङ बनाउने सोचेका थियौँ तर पछि पूरै आरसिसी बनायौँ । टप स्टेशनमा भ्यूटावर निर्माण पनि त्यसरी नै बनायौँ । निजी आवधिक जग्गा पनि भाडा लिने सोचेका थियौँ तर पछि चलिआएको मूल्य दिएर नै स्थानीयवासीसँग खरिद ग¥यौँ, यसले हाम्रो लागत बढ्यो । केबुलकार निर्माणमा रु दुई अर्ब बढी खर्च भएको उहाँको भनाइ छ । केबुलकार सञ्चालनमा आएपछि स्थानीयवासीलाई प्राथमिकता दिएर रोजगारी प्रदान गरिने र ८० देखि १ सय जनाले प्रत्यक्ष रोजगार पाउने त्रिपाठीले जानकारी दिनुभयो । माथिल्लो स्टेशन भवनमा स्काइ हेवन बेलुन रेष्टुरेन्ट, भ्यूटावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, बगैँचासहितको संरचना निर्माण भएको छ ।
केबुलकारमा जाने र आउने शुल्क रु ६ सय निर्धारण गरिएको छ भने स्थानीयवासी, विद्यार्थी तथा ज्येष्ठ नागरिकलगायतका लागि सहुलियत व्यवस्था गरिने जनाइएको छ । विदेशीका लागि भने रु ७ सय र ८सय भाडा कायम गरिएको छ । सार्क देशका पर्यटकलाई प्रतिव्यक्ति रु ७ सय र अन्य मुलुकका पर्यटकलाई रु ८ सय लाग्ने गरी टिकट शुल्क तय गरिएको छ ।
अन्नपूर्ण केबुलकार प्रालिका अध्यक्ष व्यवसायी कालु गुरुङ रहेका छन् । गुरुङसहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयवासीको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

केबुलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वास आफूहरूले लिएको अध्यक्ष गुरुङले बताएका छन् । “पोखरा आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य हो, केबुलकारमा यात्रा गर्दा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने छ ।” केबुलकार निर्माण भएकाले फेवातालको किनार सेतीबगरबाट आठदेखि नौ मिनेटमै सराङ्कोट पुगेर सराङ्कोटबाट हिमशृङ्खलासहित पोखराको दृश्यावलोकन गर्न सकिने उनको भनाइ छ । कम्पनीले यही अङ्ग्रेजी नयाँ वर्षबाट सफ्ट ओपनिङको तयारीसमेत गरेको छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।