
२३ मंसिर ०७८, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क दिम्मापातेलकी १६ वर्षीया सुस्मा तिवारीको जिब्रो सुन्निएर मुख बाहिर निस्किएको छ । सुन्निएर जिब्रोले अस्वभाविक आकार लिएपछि उनलाई खाना खान र बोल्नसमेत गाह्रो भएको बुवा दिनेश तिवारीले बताए ।
उनका अनुसार सुस्मा जन्मेको एक÷डेढ वर्षको जिब्रो बढेर बाहिरै निस्कन पुगेको हो । जिब्रोमा देखिएका ससाना बिबिरा बढ्दै जाँदा उनको जिव्रो मुखभरीको बनेको परिवारले जनाएको छ ।
उनी स्थानीय त्रिभुवन माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छिन् । सानैछँदा उपचारका लागि फाप्लु (सोलुखुम्बु) र काठमाडौं पु¥याइए पनि रोग पत्ता नलागेको तिवारीले बताए ।
मुखबाट बाहिर निस्केको जिब्रोलाई उनले रुमालले ढाक्ने गरेकी छन् । बाहिर निस्केको जिव्रोबाट निरन्तर ¥याल झर्छ । सुतेको ठाउँमा ¥यालले सिरानी भिज्ने गरेको छ ।
उनी घरकी जेठो सन्तान हुन् ।
उपचार गर्न आर्थिक अभाव
सुस्माको उपचारका लागि परिवारलाई आर्थिक समस्या छ । कमजोर आर्थिक अवस्थाका कारण सुस्मालाई सुविधा सम्पन्न अस्पतालमा पु¥याएर उपचार गर्न नसकिएको दिनेश बताउँछन् ।
उनको उपचारका लागि सुनसरीमा सहयोग अभियान थालिएको छ । पुर्खौली थलो खोटाङ भइ हाल इटहरी बसिरहेका सविन भट्टराई (खत्री) र धुर्व अधिकारीको अगुवाईमा सुस्माको उपचार सहयोग अभियान थालिएको हो ।
नोबेल अस्पताल बिराटनगरका डा. आशिषलाल श्रेष्ठको परामर्शमा उनको जिब्रोको उपचारका लागि आर्थिक संकलन अभियान थालिएको अभियान्ता भट्टराईले बताए । ’सुस्माका बारेमा जानकारी भएपछि ५ हजार खर्च पठाएर इटहरीमा बोलायौँ । नोबेलमा लगेर देखायौँ,’ भट्टराईले भने, ’डा. आशिषलाल श्रेष्ठले ६÷७ लाख खर्च जम्मा गरेर केएमसी लैजाने परामर्श दिनु भएको छ । उपचार गर्दा निको हुने जानकारी पाएका छौँ ।’
सुस्माको उपचारका लागि एक लाख सहयोग जम्मा भइसकेको छ ।







प्रतिक्रिया