१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विप्लव निकटको अखिल क्रान्तिकारीले लगायो विद्यालयमा ताल्चा




हरिप्रसाद भुसाल
८ पुस ०७८, अर्घाखाँची । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले अर्घाखाँची जिल्लाको एक विद्यालयमा तालाबन्दी गरेको छ ।
विद्यार्थी र आफूहरूसँग विद्यालयले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै क्रान्तिकारीले भूमिकास्थान नगरपालिका–१ पिपलनेटामा रहेको विश्व माध्यमिक विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेको हो ।
विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको र हिसाबकिताब पारदर्शी नगरेको भन्दै करिब १ वर्षअघि अखिल क्रान्तिकारीकै नेतृत्वमा विद्यार्थी आन्दोलित भएका थिए । केही दिनमा हिसाबकिताब सार्वजनिक गर्ने सहमतिमा त्यसबेला विद्यार्थी आन्दोलन रोकिएको थियो ।
क्रान्तिकारीका जिल्ला अध्यक्ष बाबुराम एसकेको नेतृत्वमा विद्यालय पुगेका उनीहरूले आज दिउसो क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।
तत्कालीन अवस्थामा १५ दिनभित्र हिसाबकिताब सार्वजनिक गर्ने प्रतिबद्धता जनाइएको भए पनि विभिन्न समस्याका कारण सार्वजनिक गर्न नसकिएको विद्यालयले जानकारी दिएको छ ।

’उहाँहरूको मागको विषयमा हामी सकारात्मक थियौं र छौं,’ विद्यालयका प्रधानाध्यापक सालिकराम आचार्यले भने, ’कोभिडको समस्या, विद्यालय व्यवस्थापन समिति नहुनु जस्ता कारण असहजता भइरहेको छ ।’
यता क्रान्तिकारीले भने विगतको सहमति कार्यान्वयन, लिइएको शुल्क फिर्ता र हिसाबकिताब पारदर्शी गर्न माग गरिरहेको छ । पूर्व प्रधानाध्यापक जुमलाल खनालको कार्यकालमा अनियमितता भएको भन्दै क्रान्तिकारीले हिसाब सार्वजनिक गर्न माग गरिरहेको छ । आफ्ना मागको बेवास्ता गरिए जे पनि हुनसक्ने चेतावनी समेत क्रान्तिकारीले दिएको छ । न्युज कारखाना

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।