
१० पुस ०७८,काठमाडौँ । विश्वभरका १०८ भन्दा बढी देशमा कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोन फैलिएका बेला राजधानी काठमाडौँलगायत मुख्य सहरमा ‘क्रिसमस डे’ को रौनकता छायो ।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा डिसेम्बर २५ का दिन यस समुदायका मानिसले क्रिसमस डे मनाउँछन् । क्रिश्चियन धर्म बहुल युरोप एवं अमेरिकामा भने यस वर्ष ओमिक्रोनका कारण क्रिसमसको रौनकता थिएन । नेपालमा पनि तीन जनामा ओमिक्रोन भाइरस भेटिएको छ । अझै सरकारले सतर्कता नअपनाएका कारण सङ्क्रमणको जोखिम बढेको भन्दै स्वास्थ्यकर्मीले सचेतना अपनाउन सरकारसँग माग गरेका छन् ।
बेलैमा सचेत नहुने अन्तिम अवस्थामा आत्तिने नेपालीको बानीले सङ्क्रामक रोग फैलिएका समस्या हुने गरेको डा रोशन पोखरेलले बताएका छन् । गत वर्ष क्रिसमसका बेला कोरोनाका कारण धेरैले खुलेर मनाउन नपाएका कारण पनि यसपटक धेरै मानिस कोरोना छ भन्ने बिर्सिएर हिँडेको देखिएको उनले बताएका छन् । स्वस्थ रहेमात्र आगामी वर्ष भव्यरुपमा पर्व मनाउन सकिने भएकाले त्यसतर्फ ध्यान चिकित्सकको सुझाव छ ।
आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनले बताए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो ।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ । हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १३ हजारभन्दा चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव २०७८ आयोजना गरियो ।
पछिल्लो वर्षहरुमा मुख्य सहरका प्रमुखस्थल क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको हुन्छ । गत वर्र्ष कोरोना महामारीका कारण क्रिसमसमा चहलपहल कम भएको थियो । यस वर्ष भने पर्यटक आउने क्रम सुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।
धेरै नेपाली पनि भौतिक दूरी कायम नगरी बिना मास्क भीडभाड गरेको देखिन्थ्यो । शुक्रबार साँझदेखि नै युवायुवतीको समूह क्रिसमस मनाउन विभिन्न स्थानमा जम्मा भएका थिए । राजधानीको ट्राफिक जाम र भीडभाडले पनि क्रिसमसले धेरैको ध्यान खिचेको देखिन्थ्यो ।







प्रतिक्रिया