१३ पुस २०८२, आइतबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउदै




१६ पुस ०७८, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कएका थिए ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालालगायत नेताले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४५ वर्षअघि स्वदेश फर्कनुभएको हो । देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यानको बाजी थापेर स्वदेशमै फर्कएका थिए ।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको ‘कू’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो ।
आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गएका थिए । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखि राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४५ वर्षअघि आजैका दिन उहाँलगायत नेता नेपाल फर्किएका थिए ।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एकपटक सुन्दरीजल बन्दीगृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।
सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) तथा जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेख्नुभएको थियो । बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो ।
कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रूपमा चिनिन्छन् । विसं २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ ।
दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ ।

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।