१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


र्यापर लाहुरेलाई ८ दिन थुनामा राख्न अदालतको आदेश




१८ पुस ०७८, पोखरा । लागूऔषधसम्बन्धी कसुरमा पक्राउ परेका र्यापर गायक आशिष राना ‘लाउरे’लाई जिल्ला अदालत कास्कीले आठ दिन थुनामा राख्न आदेश दिएको छ । शुक्रबार अदालतले आठ दिन अनुसन्धानका लागि प्रहरीलाई थुनामा राख्न अनुमति दिएको हो । बुधबार साँझ पक्राउ परेका रानालाई २४ घण्टाभित्र अदालतको अनुमती लिनुपर्ने नियम भए पनि भोलिपल्ट बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबार मात्र अदालतबाट म्याद थप गरिएको थियो ।
ब्राउन सुगर सेवन गरेको आरोपमा लाहुरेसहित चार जनालाई बुधबार पोखरा न्युरोडबाट कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा उनीसहित पोखरा २१ घर भई हाल पोखरा १७, छोरेपाटन बस्ने ३९ वर्षीय ध्रुवबहादुर थापा, कास्कीको रूपा गाउँपालिका ७ घर भई हाल पोखरा १, बगर बस्ने ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र स्याङ्जाको भिरकोट नगरपालिका ६ घर भई हाल पोखरा ८, सभागृह चोक बस्ने २२ वर्षीया सुस्मिता गुरुङ छन् । ३२ वर्षीय लाहुरे पोखरा ९, नयाँबजारका हुन् ।
लाहुरले लागूऔषध सेवन नगरी स्टेज चढ्न नसक्ने प्रारम्भिक अनुसन्धानका क्रममा स्वीकार गरेको प्रहरी स्रोतले भनाई छ ।
लाहुरे हिमालयन रोडिजका निर्णायक पनि हुन् । उनको ‘लाहुरे’, ‘हाउडे’, ‘केस नम्बर ४०२’, ‘नेपहपको बाटो’, ‘मेरो सोल्टा’, ‘सुपर सागा’लगायत गीत चर्चित छन् । उनले ताण्डव सिनेमामा पनि अभिनय गरेका छन् ।
कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा बिक्कीको साथबाट लागूऔषध ब्राउन सुगर ०.५१ ग्राम फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा पोखरा सभागृह चोक बस्ने सुस्मिताको कोठाभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर १२.५० ग्राम फेला परेको प्रहरीले जनाएको छ । साथै, सुस्मिताको साथबाट ३८ हजार, ५ थान मोबाइल सेट, ग२१प ३३२३ नम्बरको स्कुटरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध मुद्दामा थप अनुसन्धानका लागि फरेन्सिभ ल्याबमा पठाइने र रिपोर्ट आइसकेपछि के–कस्तो हुने पछि थाहा हुनेछ । लागूऔषध कारोबार नभई सेवन मात्रै गरेको पुष्टि भएमा लाहुरेविरुद्ध १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्नेछ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।