
५ फागुन ०७८, झापा । सार्वजनिक स्थानमा बम राखेर आतंक फैलाउँदै आएका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक र बिर्तामोडको सार्वजनिक स्थानमा प्रेसर कुकर बम राखेर आतंक फैलाउनेलाई पक्राउ गरी बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मन्दिरका पुजारीदेखि लागुऔषध मुद्दामा फरार रहेकासमेत रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गौरादह–२ का ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई–३ का ४१ वर्षीय भीष्म थापा, दमक ९ की ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी १ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी १० घर भई मोरङ सुन्दर हरैचा बस्ने २९ वर्षीय मनोमहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह ५ का ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
पक्राउ परेकामध्ये सुमनकुमार कार्की मुख्य अभियुक्त हुन् । उनी विगतमा वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा विगत दुई वर्ष जेल सजाय काटेका थिए । लागुऔषध मुद्दामा जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी भई फरार अभियुक्तको सूचीमा छन् । ‘हिमाल सुरक्षा’ परिषद्को नाममा विभिन्न ठाउँमा बम राखेर चन्दाका लागि आतंक फैलाउँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । कार्की भारतमा बसेर आर्थिक संकलन गर्दै अपराधिक गतिविधि गर्ने गरेको प्रहरीले जनाएको छ । उनको साथबाट हिमाल सुरक्षा परिषद्को पर्चा, पम्प्लेट, स्ट्याम्प, चन्दा माग्ने गरेको सिमकार्ड, आर्थिक संकलनका लागि लेखिएको पत्रसमेत फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, पक्राउ परेका सिटौला कनकाई ४ स्थित कोटीहोमका पुजारी हुन् । उनले ग्रेटर नेपाल माग राखी प्रेसर कुकर राखेको अभियोगमा पक्राउ परेका एक व्यक्तिसँग मिली कुटीमा बोलाएर हिन्दु राज्य, राजतन्त्र पुनस्र्थापनाको माग राखी पटकपटक बैठक बसेको प्रहरीले आरोप लगाएको छ । उनले भीष्म थापालाई मोटरसाइकल किनिदिने प्रलोभन देखाएर बम राख्न लगाएको प्रहरीको आरोप छ । थापा ट्युबेल गाड्ने मजदुर हुन् ।
विगतमा गोरखा जनमुक्ति पार्टीको नाममा अपराधिक गतिविधि गर्दै आएका उनीहरू हाल हिमाल सुरक्षा परिषद्को नाममा संगठित भएर आपराधिक काम गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई विष्फोटकसम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया