११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ऊर्जा क्षेत्र सहकार्य भारत–नेपाल संयुक्त संचालक समितिको बैठक सकियो



१३ फागुन ०७८, काठमाडौं । भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औं बैठक सम्पन्न भएको छ । बैठक फाल्गुन ११ र १२ गते काठमाडौंमा आयोजना भएको हो ।
दुई संयन्त्रले ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई सहयोग गर्न आवश्यक ढाँचा उपलब्ध गराउने गरेका छन् । भारत सरकार ऊर्जा मन्त्रालयका सचिव आलोक कुमार र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीको सह–अध्यक्षतामा भारत–नेपाल संयुक्त संचालक समितिको बैठक बसेको हो ।
संयुक्त संचालक समितिको बैठक सुरु हुनु अघि भारत सरकार ऊर्जा मन्त्रालयका सचिव कुमारले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
संयुक्त संचालक समिति तथा संयुक्त कार्यदलको बैठकमा दुवै पक्षले भारत नेपाल साझेदारीमा ऊर्जा क्षेत्र सहकार्य एक बलियो स्तम्भको रुपमा रहेको बताए ।
बैठकमा नेपालमा विद्युत उत्पादन परियोजनाहरुको संयुक्त विकास, सीमापार विद्युत प्रसारण पूर्वाधारको संयुक्त विकास, सम्बन्धित घरेलु नियम र नीतिगत ढाँचा अन्तर्गत विद्युत व्यापार क्षमता अभिवृद्धि सहयोगमार्फत ऊर्जा क्षेत्रमा सफलता हासिल गर्न सहमति जनाइएको छ ।

नेपाली पक्षले काठमाडौंमा गरेको स्वागत तथा आतिथ्यका लागि आभार प्रकट गर्दै भारतीय पक्षले नेपाली पक्षलाई विशाल नवीकरणीय उर्जा क्षमताको स्थापना, “एक राष्ट्र, एक ग्रीड, एक बजार” योजनाका उपलब्धिहरु लगायत पछिल्लो क्रममा भारतको उर्जा क्षेत्रमा भएका विकासबारे जनाकारी गरायो । त्यसैगरी नेपाली पक्षले पनि भारतीय पक्षलाई उर्जाको क्षेत्रमा भएका विकास, विद्युत उत्पादन र प्रशारणको भविष्य र नेपालमा विद्युत मागको परिदृश्यका बारे जानकारी गरायो ।
उर्जा क्षेत्रमा अझ बलियो र आपसी हितकर सहकार्यका लागि मार्ग प्रशस्त गर्न नेपालले विद्युत उत्पादन क्षमतामा सुदृढिकरण गरेको भारतीय पक्षको ठहर छ । भण्डारण परियोजनामा विशेष जोड दिदै नेपालमा विकास गर्न सकिने किसिमका जलविद्युत परियोजना निर्माणका लागि संयुक्त जल विकास समितिको स्थापना गर्ने दुई पक्षबीच सहमति भएको जनाइएको छ । दुई पक्षबीच उर्जासँग सम्बन्धित छलफललाई जारी राख्ने र अर्को बैठक भारतीय पक्षले आयोजना गर्नेगरी सहमति भएको भारतीय राजदूतावासले जनाएको छ । न्युज कारखाना

 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।