१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मौसम विग्रदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित



१४ चैत्र ०७८, काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । मौसम बदलीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्रै सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडानका वायुसेवा कम्पनीले उडान डिले भएको सूचना यात्रुलाई गराएका छन् । बढीमा चार घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिएका छन् । उनका अनुसार आज बिहानैदेखि उडान प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण बुद्ध एयरले तुम्लिङटार गन्तव्यमा दुई उडान रद्द गर्नुपरेको र बाँकी सबै गन्तव्यमा साँझ अबेरसम्म उडान भइरहेको कम्पनीले जनाएको छ ।

“कम भिजिबिलिटीले विमानस्थल आइएफआर अप्रेसन सञ्चालनमा जानेबित्तिकै उडान प्रभावित हुन्छ । डिले उडान राति अबेरसम्म सम्पन्न हुनेछन”, बुद्ध एयरका सूचना अधिकारी कर्णले भने । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । काठमाडौँ उपत्यकाको आकास आज दिनभरजसो बदली रह्यो ।

अझै केही दिन उडान प्रभावित हुनसक्ने आँकलन गरी हवाई सेवा प्रदायक कम्पनीले यात्रुलाई समयमै सूचना पु¥याउने प्रयास गरिएको जनाएका छन् । एसएमएस, मोबाइल एप, सामाजिक सञ्जालमार्फत यात्रुलाई समयमै सूचित गरिँदै आएको सूचना अधिकारी कर्णले जानकारी दिए ।    यात्रुले टिकट काट्दा सही सम्पर्क नम्बर राखेमा सम्बन्धित यात्रुलाई मोबाइलमै सूचना जाने कम्पनीले जनाएको छ । यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायत कम्पनीको उडान पनि सामान्य प्रभावित भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।