१६ चैत्र ०७८, काठमाडौं ।२ वैशाखमा सुखीहरूको गाउँ घले गाउँ घोषणा गरिने भएको छ । २ वैशाखमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा घलेगाउँलाई सुखी गाउँ घोषणा गर्न लागिएको हो । गाउँमा सुशासन कायम, पर्यटकलाई आवश्यक विभिन्न भौतिक सुविधाको उपलब्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षण लगायतका विभिन्न मापदण्ड पुगेसँगै घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’को रुपमा घोषणा गर्न लागिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेजन घलेगाउँ, लमजुङका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।२०४० को दशकसम्म घलेगाउँ दुर्गम पिछडिएको र गरिव गाउँको रुपमा चिनिन्थ्यो ।
ग्रामीण पर्यटनको विकासबाट घलेगाउँलाई आत्मनिर्भर बनाउन २३ वैशाख २०५७ प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरबास (होमस्टे) सुरुवात गरिएको हो । फागुन २०६४ मा दक्षिण एसियाकै नमूना गाउँ ९सार्क भिलेज०का साथै १७ मंसिर २०७६मा स्मार्ट भिलेज घोषणा गरिएको थियो । घलेगाउँलाई होमस्टेलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरिसकेको छ । अब घलेगाउँ यतिले मात्र परिचित छैन, घलेगाउँलाई अब सुखीहरूको गाउँसमेत भनिनेछ ।
स्मार्ट भिलेज पर्यटकीय गाउँ घलेगाउँलाई सुखी गाउँ घोषणा गरिने भएको छ ।स्थानीयले भेडाको ऊन, निगालो साथै अल्लोबाट हस्तकलाका सामग्री उत्पादन गरी आयआर्जन बढाएका छन् । अन्य परम्परागत पेसा, व्यवसायको पनि जगेर्ना गरिएको छ । यसले यहाँको दीगो आर्थिक एवं सामाजिक विकासमा टेवा पुर्याउनुका साथै प्राचीन सभ्यता र संस्कृति संरक्षणमा थप मद्दत पुगेको छ । गाउँमा प्राचीन इतिहास झल्काउने संग्रहालयको निर्माण गरिएको छ । पर्यटक आगमनको वृद्धिले यहाँको ग्रामीण जीनवस्तर माथि उठ्नुका साथै पर्यावरण र संस्कृतिको जगेर्ना भएकाले पनि यहाँको पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको क्वलहोलासोँथर गाउँपालिकाका अध्यक्षसमेत रहेका घलेले बताए ।
प्रतिक्रिया