
१८ चैत्र ०७८, काठमाडौं । तीन दिन मौसम सफा नहुने भएको छ। भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताइन्।
उक्त प्रणालीको प्रभावले प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
‘अझै तीन दिन मौसम सफा हुने अवस्था देखिएको छैन’, मौसमविद् वासीले भनिन्। रातिको समयमा प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने भई प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १, मधेस प्रदेशलगायत र गण्डकी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २७ दशमलव २ डिग्री सेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम ५ दशमलव ० डिग्री र सबैभन्दा धेरै दिपायलमा अधिकतम तापक्रम ३७ दशमलव ० डिग्री सेल्सियस छ। रासस
प्रतिक्रिया