४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना



चैत १९ गते काठमाडौं ।  नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने राष्ट्रको संख्या १७६ पुगेको छ ।कूटनीतिक स्थापना गर्ने सम्बन्धी पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगका लागि स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राई र बेलिजको तर्फबाट राष्ट्रसंघका लागि बेलिजका स्थायी प्रतिनिधि तथा राजदूत कार्लोस सी.फुलरले हस्ताक्षर गरेका थिए ।

अमेरिकाको न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक स्थापन सम्बन्धी पत्रमा हस्ताक्षर गरिएको थियो । दुवै देशका राजदूतले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको बारेमा जानकारी समेत गराएको नेपाली स्थायी नियोगले जनाएको छ । बेलिज एक क्यारिबियन देश हो । बेलिज सन् १९८१ सेप्टेम्बर २१ मा बेलायतबाट स्वतन्त्र भएको थियो । सन् १९७३ भन्दा अघि बेलिजलाई ब्रिटिश होन्डुरस भनेर चिनिन्थ्यो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।