
२३ चैत्र ०७८, कातमाडौं । लमजुङमा १७ वटा मतदान केन्द्र थपिएका छन् । निर्वाचन आयोगले जारी गरेको मतदाता एवं मतदानस्थल विवरणअनुसार जिल्लामा साविककै मतदान स्थलमा थप १७ वटा मतदान केन्द्र कायम भएको हो ।सरकारले आगामी ३० वैशाख स्थानीय तह निर्वाचन घोषणा गरेसँगै जिल्लाबाट एकसय २३ मतदानस्थल र एक सय ८७ मतदान केन्द्र पनि सिफारिस भएको थियो । मतदाता संख्याको आधारमा केन्द्र कायम हुनेगरी सिफारिस गरिए पनि निर्वाचन आयोगले भने १ सय ८२ मतदान केन्द्र कायम गरी पठाएको निर्वाचन कार्यालय लमजुङकी प्रमुख सिर्जना मिश्रले बताइन् ।
आगामी स्थानीय तह निर्वाचनका लागि विभिन्न स्थानीय तहमा गरी एकसय २३ मतदान स्थलमा एक सय ८२ मतदान केन्द्र कायम भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा सोही मतदानस्थलमा १ सय ६५ मतदान केन्द्र कायम भएको थियो । सोही वर्ष भएको स्थानीय तह निर्वाचनमा भने १ सय २३ मतदान स्थलमा १ सय ५५ मतदान केन्द्र रहेका थिए ।जिल्लामा कायम भएका मतदानस्थल र केन्द्रमध्ये सबैभन्दा धेरै बेसीसहरमा छन् । बेसीसहरमा मात्रै २१ मतदान स्थलमा ३५ मतदान केन्द्र कायम भएको छ । त्यसैगरी मर्स्याङदी गाउँपालिकामा भने २० वटा मतदानस्थलमा २४ वटा मतदान केन्द्र कायम भएको पाइएको छ ।
मध्यनेपाल नगरपालिकामा १८ वटा मतदानस्थलमा २६ वटा मतदान केन्द्र कायम भएको छ भने सुन्दरबजार नगरपालिकामा १६ वटा मतदानस्थलमा २९ वटा मतदान केन्द्र कायम भएको छ । त्यसैगरी जिल्लाको राईनास नगरपालिकाम १२ वटा मतदानस्थलमा २० वटा मतदान केन्द्र कायम भएको छ भने दूधपोखरी र क्होलासोँथार गाउँपालिकामा १०र१० वटा मतदानस्थल कायम भएका छन् ।दूधपोखरीमा मतदान केन्द्र १२ वटा कायम भएको छ भने क्होलासोँथारमा १३ वटा मतदान केन्द्र कायम भएका छन् । दोर्दी गाउँपालिकामा भने १६ वटा मतदानस्थलमा २३ वटा मतदान केन्द्र कायम भएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।








प्रतिक्रिया